काठमाडौँ । भारत र अफगानिस्तानबीच २०२५ असोज २३ गते (९ अक्टोबर) देखि सम्बन्धको नयाँ अध्याय सुरु हुँदैछ ।
किनभने यस दिन भारतको निम्तोमा अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका एक जना वरिष्ठ मन्त्री भारत भ्रमणमा आउँदै छन् ।
तालिबानका कमाण्डर एवम् अफगानिस्तानका विदेश मन्त्री अमीर खान मुत्ताकी भारत भ्रमणमा आउँदै छन् । ‘अपरेसन सिन्दूर’, पाकिस्तानको आक्रामकता र अमेरिकाको भारतप्रति बदलिँदो नीतिका बीच मुत्ताकीको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।
संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित अमीर खान मुत्ताकीलाई भारत आउन दिन भारतले संयुक्त राष्ट्रसँग विशेष छूट मागेको भारतीय मिडियाहरूले जनाएका छन् ।
केही दिनमै अफगानिस्तानका विदेश मन्त्री र तालिबानको शीर्ष नेतृत्वमा गनिएका अमीर खान मुत्ताकी भारत आउने तयारीमा छन् । सन् २०२१ को अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि भारत भ्रमणमा जाने उनी पहिलो उच्चस्तरीय तालिबान नेता हुने छन् ।







