वीरगन्ज । अविरल बर्सातले वीरगन्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिवारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो ।
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए । “लगातार ठुलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन ।”
उनले भने, “महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ।” प्रमुख सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए । “सिर्सिया नदी आसपासमा रहेका बस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ”, उनले भने, “महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति हुन भने पाएको छैन ।” प्रमुख सिंहले वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको जानकारी दिए ।
“वर्षाको पानीले हुनसक्ने डुबानलाई लक्षित गरेर टोल–टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्नको लागि निर्देशन दिएर अहिले ती ठाउँहरू खुला रूपमा राखिएका छन्”, उनले भने, “सबैसँग समन्वय गरेर उद्धारमा लागिरहेका छन् ।” प्रमुख सिंहले केही समय अघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठुलो प्रकृतिको क्षति हुन नपाएको दाबी गरे ।
पर्सामा अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यहाँ अत्यधिक वर्षा हुन थालेपछि आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित पर्सा जिल्लामा पानी परेसँगै आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए । “वर्षापछि हुनसक्ने डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन वटै सुरक्षा निकायले उद्धारका लागि तयारी अवस्थामा जुटेका छन्”, उनले भने, “अहिलेसम्म वर्षाको कारणले कुनै पनि मानवीय क्षति भएको छैन ।”
प्रजिअ सुवेदीले वर्षा भइरहेकाले पनि कुनै पनि डुबान र अन्य प्रकृतिको समस्या भएको खण्डमा तुरुन्तै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई खबर गर्नका लागि अनुरोध गरेका छन् ।







