काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको सचिवालय बैठकमा समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको सकारात्मक वार्ता भइरहेको ब्रिफिङ गरेका छन्।
एकताको प्रयाससँग मोर्चालाई थप विस्तार गर्ने योजना पनि सुनाए। मोर्चामा अहिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। यी पार्टीहरूसँग एकताको वार्ता भइरहेको प्रवक्ता अग्नि सापकोटाले बताए।
उनले भने, ‘समाजवादी मोर्चा विस्तार र विचार मिल्नेहरूसँग एकताको लागि सकारात्मक छलफल भइरहेको छ।’
‘प्रचण्ड’ले मोर्चा सामेल हुनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र अशोक राई नेतृत्वको जसपालाई प्रस्ताव अघि सारेका छन्। ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पार्टी फुटाइदिएको निष्कर्षसहित जसपा नेपाल भने मोर्चामा आबद्ध हुन इच्छुक छैन।
तर, उपेन्द्रबाट अलग भएर जसपा गठन गरेका अशोक राई भने चार दलीय समाजवादी मोर्चामा सामेल हुन तयार भएका छन्। जसपा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर बनेको पार्टी हो।
जसपा नेपाल सग्लो हुँदा उपेन्द्रको नेतृत्वमै जसपा मोर्चामै थियो। जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने आफूहरू मोर्चामा आबद्ध हुन तयार रहेको बताए।







