काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित जिरी-खाडिचौर सडक खण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् ।
रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दर्घटनाको खबर पाएपछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ । हालसम्म बसमा सवार यात्रुको सङ्ख्या यकिन भएको छैन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिए ।







