काठमाडौँ । गृह मन्त्रालयले धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ ।
बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन समेत अपिल गरेको छ ।
‘मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ,’ गृहले भनेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको पनि गृहले जनाएको छ ।
‘नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको ब्यहोरा अनुरोध गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ,’ गृहले भनेको छ ।







