काठमाडौँ। जेनजी युवा प्रतिनिधिहरूले गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागीहरूलाई अभियोजन नगर्ने गरी सुरक्षा प्रदान गर्नुपर्ने लगायतका माग राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् । उनीहरूले आन्दोलनकारीको सुरक्षासमेत माग गरेका छन् ।
वार्ता टोलीका सदस्य प्रवेश दाहालका अनुसार राष्ट्रपति पौडेललाई २२ असोजमा भेटेर प्रस्तावित सम्झौतापत्रमार्फत् आठ बुँदे माग बुझाइएको हो । त्यसको दोस्रो बुँदामा लेखिएको छ, ‘जेनजीको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरूद्वारा गरिएका र गराइएका तथा हुनसक्ने आक्रमणहरूबाट यथाशक्य सुरक्षा प्रदान गर्ने ।’
जेनजी युवाहरूले हालसम्म सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्तिको छानबिन गरी अभियोजन गर्ने र त्यस्तो सम्पत्ति राष्ट्रियकरण गर्ने प्रस्ताव समेत राखेका छन् ।
निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने उनीहरूको प्रस्ताव छ ।









