काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमार्फत आतंक मच्चाउने ढंगले प्रवाह भइरहेका फेक कन्टेन्टहरूको नियम र नियन्त्रणमा प्रेस काउन्सिललाई सशक्त बन्न सुझाएका छन् ।
प्रेस काउन्सिल नेपालको भ्रमणमा गएका मन्त्री खरेलले आवश्यक जनशक्ति थपेर टास्क फोर्स नै गठन गरेर भने पनि फेक कन्टेन्टहरूको नियमन गर्नुपर्ने बताए।
मन्त्री खरेलले भने, ‘के भयो भने यो विकृति र विसंगतिलाई अनुगमन, नियमन र कानूनको दायरमा ल्याउन सक्छौँ ? यसबारे काउन्सिलले भनोस् । अहिले २० हजार वटा सोसल मिडियाका प्लेटफर्महरू सञ्चार माध्यमार्फत सञ्चालित छन्। अधिकांश आउट अफ ट्र्याक गएका हुन् कि भन्ने पनि देखिन्छ । सामाजिक सञ्जालमा हेर्यो भने हुँदै नभएका एआई जेनेरेटेड कन्टेटहरुले मान्छेलाई भ्रमित बनाइरहेको छ । गलत नहोस् भन्नका लागि हामी अनुगमन,नियमन र कारवाहीको दायरमा ल्याउन गम्भीर बन्नुपर्छ ।’
अहिलेको सरकार ६ महिनाका लागि आएकाले लोकरिझ्याइका लागि काम नगर्ने भन्दै मन्त्री खरेलले प्रेस काउन्सिलले स्वायत्त र स्वतन्त्र ढंगले काम गर्नुपर्ने बताएका छन् ।
मन्त्री खरेलले नागरिकले प्रयोग गर्ने व्यक्तिगत सामाजिक सञ्जालका प्लेटफर्महरूको अनुगमन राज्यका अरू निकायले गर्ने र कारवाहीको दायरामा ल्याउने भन्दै काउन्सिलले मिडियाले चलाउने सामाजिक सञ्जालको अनुगमन,नियमन र कारवाही गर्नुपर्ने बताए । उनले यसका लागि एक साताभित्र काम गर्न पनि निर्देशन दिएका छन् ।







