काठमाडौँ । धनकुटाको साँगुरी गढी गाउँपालिका-९ स्थित पाँच गोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान २ बजे मिनि ट्रक अनियन्त्रित भइ सडकबाट तल खस्दा सह-चालक उदयपुरको उदयपुर गढी गाउँपालिका-९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकदेखि अन्दाजी तीन सय मिटर तल खसेको थियो ।
दुर्घटना भएको स्थानमा प्रचौ मुलघाटबाट प्रसनि टंक बहादुर कटवालको कमाण्डमा पाँच जना प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितको टोली घटनास्थल पुगी उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याएको थियो । उपचारको क्रममा सहचालक खडकालाई बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् । चालक क्षेत्रीलाई भने जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको छ ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको सव गृहमा राखेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







