काठमाडौँ । सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ।
शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा गहन छलफल भएको छ। छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सुदृढ पार्ने विषयमा केन्द्रित थियो।
आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन्।
उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका हुन् । यस समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव हुन् ।
यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ।
‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ। सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ।’







