काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धनवन्तरी जयन्ती मनाइएको हो ।
आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आज बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजा आराधना गरेका थिए । धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रूपमा समेत मानिन्छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धनवन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दु ग्रन्थमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्संकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दु दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । आयुर्वेद चार वेदमध्येको अथर्ववेदको उपवेद हो ।
धनवन्तरी जयन्तीका अवसरमा आज चन्द्रागिरि नगरपालिका वडा नं ८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कार्यक्रम आयोजना गरियो । नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि-८ का वडाध्यक्ष प्रह्लाद रिजाल, प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,अस्पतालका प्रमुख डा नारायण आचार्य, आयुर्वेद क्याम्पस कीर्तिपुरका प्रमुख प्रा. डा. शिव मंगल प्रसाद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आयुर्वेद विज्ञ पुष्पराज पौडेल , कलाकार निखिल उप्रेती, आयुर्वेद विज्ञ निर्मल विज्ञ लगायतले आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक धनवन्तरीको विविध आयममाथि प्रकाश पारेका थियो ।
देशकै सर्वोत्कृष्ट सो चिकित्सालयले गत वैशाख २५ गते पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन पहिलो पटक शल्यक्रिया सेवा सुरुआत गरेको थियो ।
यसैबीच आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइएको छ ।
पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म बढिरहेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ । गत वर्षसम्म ठप्प प्राय: रहेको वैद्यखानाको उत्पादन अहिले बढ्न थालेको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।







