कठ्याङ्गिदा चिसा रातहरुमा
मुटु नै छिचोल्ने सिरेटोलाई पन्छाउँदै
आशाको न्यायो पाखी ओढाउँदै
व्याकुलित जिजीविषालाई शान्त पार्ने
चिसिएको मनलाई न्यायो बनाउने
आज मैले अनौठो सपना देखें।
ढलेका धरोहरहरु जुरुक्क उठ्दै थिए
डढेका खरानी अमूल्य धातु बन्दै थिए
रहरहरु संकल्पको आकृतिमा कोरिदैं थिए
अन्धकार चिर्दै सुनौलो किरण झुल्काउने
पत्थरकाबीच सुगन्धित फूल फुलाउने
आज मैले अनौठो सपना देखें।
मान्छेहरु खुट्टा तान्न छाडेर हात मिलाउँदै थिए
समर्पण र निष्ठाको ज्योति फैलाउँदै थिए
बगैंचामा सबै रंगका फूलहरु मुस्कुराउँदै थिए
मलिन चेहराहरुमा मुस्कान फूलेको
परिश्रमी हातहरु यही माटोमा भुलेको
आज मैले अनौठो सपना देखें।
हराएका नैतिकताहरु भेटिदैं थिए
वैमनश्यका दागहरु मेटिदैं थिए
पर्दाभित्रका वास्तविक तस्विरहरु देखिंदै थिए
पीडामा खुशीले मलम लगाउँदै गरेको
पन्छीहरुले उमंगको गीत गाउँदै गरेको
आज मैले अनौठो सपना देखें।
विकृति र विभेदहरु तिरस्कृत हुँदै थिए
संस्कारहरु परिस्कृत हुँदै थिए
इमान्दारहरु पुरस्कृत हुँदै थिए
प्रतिस्पर्धा देखिन्थ्यो देश बनाउने
आहा ! कस्तो फूलबारी, सबै फूलले स्वाभिमान जनाउने
आज मैले अनौठो सपना देखें।
यो सपना, सपना मात्र होइन
हामी सबैको चाहनाको प्रतिविम्ब हो
विद्रोह पछि धारण गरिएको डिम्ब हो
अब यो सपनाबाट विपना जन्माउनुपर्छ
विद्रोही डिम्बमा इमान्दार शुक्रकिटको मेल गराउनुपर्छ
पतित शासक जन्माउने खेल फेल गराउनुपर्छ।
अजै यो धरती कति बनाउने रक्तशाला?
दानवलाई मान्छे बनाउने बनाउँ पाठशाला
जहाँ अहंकार विनाको विवेक बन्न सकोस्
म राष्ट्रको सेवक भन्न सकोस्
आफ्नो गोरेटो हैन देशको सुन्दर भविष्य कोर्न सकोस्
सबैको मन चोर्न सकोस्।
२०८२।०७।०३, महाकवी लक्ष्मीप्रसाद देवकोटा जयन्ती







