काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् ।
सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे ।
उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न सकिन्छ। अहिलेको ठाउँमा यो चट्याङ हजार वर्षपछि पनि नआउन सक्छ। त्यसकारण जेनजी आन्दोलन चट्याङ हो, त्यो भन्दा अर्को होइन। अब कहिले पर्छ थाहा छैन।तर, नेपालमा जेनजी आन्दोलनको रूपमा एउटा चट्याङ आयो। चट्याङले अलिकति विध्वंस गर्यो। यो सय वर्षमा आउन पनि सक्छ नआउन पनि सक्छ।’
उनले यस्तो विषम अवस्थामा राष्ट्रलाई सहयोग गर्न आफू मन्त्री बन्न बाध्य भएको बताए । उनले भने, ‘ यो कसैले यो गर भन्दा गर्ने, नगर भन्दा नगर्ने प्रकारले म मन्त्री भएको होइन। यो मैले स्वविवेकले निर्णय लिएको हो।’







