काठमाडौँ। अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पलले सदैव चर्चा र प्रसिद्धिले भरिएको कम्पनी हो भन्नेमा द्विविधा छैन । यसपटक चाहिँ एप्पलले पुनः अर्को सफलताबाट चर्चा कमाएको छ ।
पछिल्लो यो सफलता उसको ल्यापटप, फोन वा कुनै एउटा प्रडक्टलाई लिएर होइन, कम्पनीको शेयर मूल्यसँग सम्बन्धित छ ।
सोमबार कम्पनीको शेयर मूल्य अहिलेसम्मकै कीर्तिमानी उच्च विन्दुमा पुग्यो । त्यससँगै कम्पनीको बजार पुँजीकरण अर्थात् मार्केट भ्यालूले करिब ४ ट्रिलियन डलरको कोशेढुंगा चुमेको हो ।
एप्पलको स्टकमा आएको तीव्रताको एउटा ठुलो कारण चाहिँ आइफोन १७ सिरिजको जबरजस्त बिक्री हो ।
सोमबार एप्पलको शेयर मूल्यमा ४.२ प्रतिशतले वृद्धि भई प्रतिशेयर २६२.९ डलर पुगेको थियो । योसँगै एप्पलको कूल बजार पुँजीकरण ३.९ ट्रिलियन डलर नाघ्यो ।
साथै एप्पल विश्वको दोस्रो सर्वाधिक मूल्यवान् कम्पनी पनि बन्यो ।
यदि एप्प्लको शेयरमा विद्यमान गतिमा वृद्धि भएमा यसले ४ ट्रिलियन डलरको बजार पुँजीकरण छिटै नै हासिल गर्ने पक्का छ ।
स्मरण रहोस् एप्पलले यहीँ अक्टोबर ३० मा आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेवाला छ ।
काउन्टरप्वाइन्टका अनुसार आइफोन १७ सिरिजले यसभन्दा अघिल्ला सिरिजको तुलनामा बजारमा राम्रो प्रभाव पारेको छ र बिक्री उच्च देखिएको छ ।







