लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन र समाज रूपान्तरणलाई प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन्। तिहार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समाजमा सत्य, न्याय र सकारात्मक सोच अभिवृद्धि गर्दै सद्भाव र भ्रातृत्व सुदृढ बनाउने दिशामा सरकार निरन्तर अग्रसर रहेको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री आचार्यले तिहार नेपालीहरूको मौलिक सांस्कृतिक चाड भएको उल्लेख गर्दै यस पर्वले मानव, प्रकृति र प्राणी जगत्बीचको अन्योन्याश्रित सम्बन्ध उजागर गर्ने बताए । उनले दिदीबहिनी र दाजुभाइबीचको स्नेह, सामाजिक एकता र सामूहिक उत्तरदायित्व बलियो बनाउन तिहारले महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे ।
देउसी–भैलोका क्रममा सङ्कलित रकमलाई समाजोपयोगी तथा रचनात्मक कार्यमा लगाउने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको बताउँदै मुख्यमन्त्री आचार्यले त्यसको संरक्षण र जगेर्ना गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।
शुभकामना सन्देशमा उनले तिहारको मूल्य र मान्यता अनुशासन, सद्भाव र आपसी सहयोगसँग जोडिएको बताउँदै यस्ता पर्वहरूले समाजमा सकारात्मक रूपान्तरणका लागि प्रेरणा दिने विश्वास व्यक्त गरे। उनका अनुसार प्रदेश सरकारले यस्ता सांस्कृतिक पर्वका माध्यमबाट सुशासन प्रवर्द्धन र सामाजिक चेतनाको विस्तारमा जोड दिएको छ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै चालु खर्च कटौती, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका ठोस कदम चालेको जानकारी दिए। पूर्वविशिष्ट पदाधिकारीका सेवासुविधा खारेज गर्ने निर्णयदेखि जनउत्तरदायी शासन निर्माणसम्मका प्रयासले सरकारको प्रतिबद्धता स्पष्ट भएको उनले बताए ।
युवापुस्ताको सोच र चाहनालाई आत्मसात् गर्दै आत्मनिर्भरता र नवप्रवर्तनमुखी विकासतर्फ सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’को लक्ष्य साकार पार्न कृषि, पशुपालन, उद्यम र रोजगारीका क्षेत्रमा प्राथमिकता दिइएको जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले देशमा देखिएका समस्या र चुनौतीहरूको समाधान संविधानको पूर्ण कार्यान्वयनबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गर्दै स्थायित्व, सुशासन र विकासका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।
उनले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बलियो पार्दै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।







