रामपुर। यस वर्षको तिहारमा झिनियाँको माग अत्यधिक बढेपछि व्यवसायीहरू उत्पादनमै व्यस्त भएका छन् । मागअनुसार वस्तु पु–याउन नसकिएको उनीहरूको भनाइ छ । चाडपर्वको बेला झिनियाँ बिक्री गरेर व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन् ।
रामपुर नगरपालिका–५ राङभाङका उद्यमी रुद्रनारायण श्रेष्ठले तिहारमा पछिल्ला वर्षहरूमा दिदीबहिनीहरूले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढेपछि बजारमा माग उच्च रहेको बताए । “उत्पादन गर्न हम्मेहम्मे परेको छ । बिक्रीको चिन्ता छैन, उद्योगमै धमाधम बिक्री भइरहेका छन्,” उनले भने ।
श्रेष्ठले विगत एक दशकदेखि रामपुरमा झिनियाँको व्यापार गर्दै आएका छन् । श्रीमती लक्ष्मी श्रेष्ठ पनि निरन्तर रूपमा उहाँसँगै व्यवसायमा संलग्न छिन् । चाडपर्व नजिकिँदै गर्दा र वर्षा ढिलो सकिएकाले यस वर्ष पहिलेको तुलनामा तयारी गर्न नसकिएको र त्यसैले उत्पादनमा भ्याइनभ्याई भएको उनले बताइन् ।
श्रेष्ठको उद्योगमा हाल छ जनाले रोजगारी पाएका छन् । यो तिहारमा झिनियाँ बिक्रीबाट करिब रु. ६ लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएका झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा र चितवनलगायत स्थानमा बिक्री भइरहेको छ ।
रामपुर–४ सिर्जनाचोकका उद्यमी विष्णु सारुले पनि यसपटक बजारको माग थेग्न मुस्किल परेको बताए । उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन् । घरमै खरिद गर्न आउने ग्राहकका कारण बजार धाउन नपर्ने भएको उनले बताए ।
झिनियाँ हाल प्रतिकिलो खुद्रा मूल्य रु. १०० र थोक मूल्य रु. ९० मा बिक्री भइरहेको छ । छोटो समय, कम लगानी र घरमै उत्पादन गर्न सकिने भएकाले झिनियाँ व्यवसायमा आकर्षण बढ्दै गएको छ ।
झिनियाँलाई दिदीबहिनीहरूले तिहारमा दाजुभाइलाई टीका लगाइसकेपछि प्रसादस्वरूप दिने चलन छ । अहिले खाजाका रूपमा पनि यसको प्रयोग बढ्दो छ । विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न शुभकार्यमा पनि झिनियाँको प्रयोग हुने गरेको छ ।
पहिले घरायसी प्रयोजनका लागि हातले बनाइने झिनियाँ अहिले बजारमा सजिलै पाइने भएको छ । यसबाट मनग्य आम्दानी हुने भएकाले महिलाहरू पनि यो व्यवसायतर्फ आकर्षित भएका छन् । झट्ट नबिग्रने भएकाले भण्डारण गरेर जुनसुकै समयमा बिक्री गर्न सकिने र यातायात सुविधा पुगेकाले बजार पठाउन पनि सहज भएको उद्यमीहरूको अनुभव छ ।
बिहान साँझ घरधन्दा सकेपछि महिलाहरू दिउँसो झिनियाँ उत्पादनमा लाग्ने गर्छन् । यसले उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाएको छ । चामलको पीठोलाई पकाएर मेसिनमार्फत सुकाएर झिनियाँ तयार गरिन्छ । पहिले तिहारका लागि मात्र उत्पादन हुने झिनियाँ अहिले वर्षभरि नै बिक्री हुने खाजाका रूपमा लोकप्रिय बन्दै गएको छ । रासस







