कास्की । पोखरा महानगरपालिका-५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१८ सराङकोट घर भई सोही महानगरपालिका-५ माले पाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिना रहेका छन् ।
पोखरा महानगरपालिका-५ चिल्डेल पार्क नजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनिललाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिल बिच सामान्य वादविवाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आए पश्चात् तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कुसहित प्रहरीले पक्राउ गरेको हो । अहिले उनलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







