मनाङ। मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका-४ याकखर्कमा थप एक भरियाको लेक लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घलेले पर्यटकको भारी बोकी फर्कने क्रममा शुक्रबार दिउँसो ३:०० बजे लेक लागी घटनास्थलमै मृत्यु भएको जनाएको छ।
मृतकका ज्वाइँ मारिस तामाङद्वारा प्राप्त जानकारीका आधारमा घलेको मृत्यु भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ। मौसमी अवस्था अत्यन्त प्रतिकूल भएकाले घटनास्थलमा तत्काल उद्धार कार्य गर्न नसकिएको पनि प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीका अनुसार उक्त स्थान प्रहरी चौकी च्याखुबाट करिब १४ किलोमिटर उत्तरतर्फ पर्दछ र त्यहाँ पुग्न करिब १२ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ।







