काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।
पदभार ग्रहणपछि मन्त्री शर्माले मन्त्रालयका कर्मचारीसँगको छलफलमा यस्तो बताएका हुन् ।
मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न चेतावनी दिइन् ।
मन्त्रालय अन्तर्गतका शाखा एवं विभागहरूबाट प्रवाह हुने सेवा नागरिकमैत्री बनाउन निर्देशन दिँदै मन्त्री शर्माले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याएर भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिएकी हुन् ।
उनले भनिन्, ‘कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रूपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो । प्रशासनिक रूपमा जति गर्नुपर्थ्यो गरेँ । तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्यान्डल गर्न सक्दैन नि १ त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरेँ ।’







