काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् ।
आइतबार अपराह्न सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका हुन् ।
विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाइ थियो ।
‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौँ,’ उनले भने, ‘बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँछु । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि ।’
मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने समेत उनले बताए । उनले त्यसका लागि आफूलाई समय दिन पनि आग्रह गरेका छन् ।
‘पहिला हामी कामै गरौँ । काम गरेपछि त्यो निर्णयहरू हामी तपाईँहरूको अगाडि प्रस्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईँहरूले हामीलाई पनि समय दिनुहोला,’ मन्त्री गुप्ताले भने, ‘किनभने हामीसँग सर्ट टाइम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौँ ।’
मन्त्री गुप्तालाई मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल लगायतका उच्च प्रदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।







