काठमाडौँ । भारतको राजधानी दिल्लीमा फैलिएको गम्भीर वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मंगलबार कृत्रिम वर्षा गराउने प्रयासस्वरूप क्लाउड सिडिङ गरेको छ ।
क्लाउड सिडिङमार्फत् कृषिम वर्षा भए विषाक्त धुवाँ र धुलोले ढाकिएको राजधानी दिल्लीको वायुमण्डल सफा हुने अपेक्षा गरिएको छ । क्लाउड सिडिङपछि अहिले दिल्लीबासी कृषिम वर्षाको पर्खाइमा छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइआइटी कानपुरका वैज्ञानिकहरूको टोलीले यो अभियान सञ्चालन गरेको हो ।
उक्त संस्थाको सानो विमानले दिल्लीको उत्तरी क्षेत्रका बादलमाथि उडान भरेर सिल्भर आयोडाइड र सोडियम क्लोराइडजस्ता रासायनिक पदार्थ छरेको इन्डिया टूडेले जनाएको छ । यी रासायनिक पदार्थ वर्षा गराउनका लागि प्रयोग गरिन्छन् ।
निर्धारित समय अनुसार मंगलबार दिउँसो १२स्३० बजे सुरु हुने भनिएको क्लाउड सिडिङ भिजिबिलिटी कम हुँदा केही ढिलो सुरु भएको थियो ।
दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले भने, ‘यदि यो प्रयास सफल भयो भने कृत्रिम वर्षामार्फत प्रदूषणमा उल्लेखनीय सुधार आउनेछ । गत साताको परीक्षण उडानमा पनि उत्तरी दिल्लीको बुरारी क्षेत्रमा सानो मात्रामा यस्ता रासायनिक पदार्थ प्रयोग गरिएको थियो, तर त्यतिबेला हावामा पर्याप्त ओस नभएकाले वर्षा हुन सकेको थिएन ।’
यो परियोजनालाई भारतीय मौसम विभाग र दिल्ली सरकारको वातावरण विभागले अन्तिम स्वीकृति दिएका थिए । यससँगै दिल्लीमा पहिलो पटक पूर्ण रूपमा कृत्रिम वर्षा गराउने प्रयास गरिएको हो ।
यसबीच दिपावलीका दौराना पटाकाका कारण प्रदूषण बढेको र छिमेकी राज्यहरूमा पराल जलाउने क्रम बढेसँगै राजधानीमा वायुको गुणस्तर विषाक्त बनेको छ । मंगलबार बिहान दिल्ली बाक्लो कुहिरो र धुवाँले ढाकिएको थियो ।
दिल्लीको वायु प्रदूषणले त्यहाँका नागरिकको औसत आयु लगभग ११.९ वर्षले घटाएको एक अध्ययनले देखाएको छ ।







