सुशीला कार्की र महावीर पुनका आत्मवृत्तान्त प्रकृतिका पुस्तकहरू पुन: पढ्न मन लाग्यो, पढियो । पहिलो पटकको पढाइमा त्यसो भएको थिएन, समसामयिक परिवेशले पनि होला, दोस्रो पटकको अध्ययनले मनमस्तिष्कलाई अधीर बनायो, हल्लायो । व्यक्ति, समाज र राज्यका सम्बन्धमा भिन्न भाव मनमा उत्पन्न भयो । यसै विषयलाई केन्द्रकृत गरी दुई महिनाको अवधिमा दुई दर्जन जति रुचिकर लागेका समसामयिक पुस्तकहरू पढिएछ । अधीर मन केही शान्त बनेको छ । यो प्रयासबाट संश्लेषित विचार यस लेखमा प्रस्तुत गरिएको छ ।
नेपालका वर्तमान सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको आत्मवृत्तान्त शैलीमा लेखिएको पुस्तक “न्याय” (वि.सं. २०७५) पढेपछि, सरल जीवन शैली, निर्भीक स्वभाव, जीवनका हरेक पक्षमा सेवाभाव प्रकट हुने वाहाँको पहिचान रहेछ भन्ने मानसपटलमा घुसेको छ । वाहाँको जीवन सफल बनाउनमा वाहाँका श्रीमान् दुर्गा सुवेदीको भूमिका महत्वपूर्ण हो। रहेछ भन्ने पनि सहजै बुझिन्छ । सुवेदीको चर्चित पुस्तक “जहाज अपहरण” त पढिएकै थियो । वाहाँका बारेमा थप जानकारी लिन इच्छा उत्पन्न भयो । वाहाँका करिब आधा दर्जन अन्तर्वार्ताहरू समेत गम्भीर भएर सुन्ने र हेर्ने अवसर जुट्यो । वाहाँको अध्ययन, आध्यात्मिक चिन्तन र सोचको स्तर समसामयिक नेपाली राजनीतिज्ञ र विश्लेषकको भन्दा उच्च स्तरको पाइन्छ । उहाँको विचारसँग निकटता रहेको राजनीतिक दलका कमजोर गतिविधिलाई तिरस्कार गर्ने क्षमता वाहाँमा देखियो । मानवीय पक्ष र राष्ट्रिय स्वाधीनताको भावनाले वाहाँमा त्यो तागत ऊर्जाशील भएको रहेछ । भावनामात्र उत्पन्न भएको होइन व्यवहारले तिरस्कार गर्ने क्षमता वाहाँमा पाइन्छ ।
सुशीला कार्कीमा भएका विशिष्ट गुणहरू धनी हुने इच्छा त्याग गर्ने क्षमता, अपवादमा बाहेक घर बाहिर नखाने, शाकाहारी खाना, खाना पकाउन र परम्परागत खान मनपराउने स्वभाव जस्ता पक्ष श्रीमान् कै भूमिकाबाट विकसित भएका रहेछन् भन्ने जानकारी हुन्छ । आफूले खाने तरकारी आफ्नै करेसाबारीमा आफूहरूले उत्पादन गर्ने, टिनको छानो भएको घर, तर सबै कोठाबाट बाहिर भाग्न मिल्ने ढोकाहरू र त्यसैमा रमाउने तागत वाहाँहरू दुवैमा रहेछ । सकभर घरमा रहँदाका लागि दुई जोर र बाहिरका लागि मात्र दुई जोर कपडाको उपयोग र प्रयोग गर्ने आदत ! यस प्रकार गास, बास र कपास तीनै चीजमा सबैको अनुकरणीय परिवार रहेछ । धेरै धनको जोहो गरेर भन्दा पनि हाम्रो आफ्नै स्वभाव र चरित्रमा सरलता ल्याउने र परिवर्तन गर्ने हो भने त्यो लोभलाग्दो जीवन शैली हामीमध्ये धेरैले बनाउन सकिन्छ भन्ने लाग्छ, पुस्तक पढेपछि ।
प्रधानन्यायाधीश भइसकेको व्यक्ति सडकमा जुलुस लगाउँदै हिँडेकोमा वाहाँका बारेमा धेरैको आलोचना सुनेको थिएँ । सरकारको नुन खाएर सरकारकै आलोचना गर्ने भन्ने कुराले मलाई पनि हो त ! भनेजस्तो लाग्थ्यो । तर वाहाँको “मैले पाउने पेन्सन जनताले तिरेको करबाट प्राप्त भएको हो । मलाई लाग्यो, जनताले तिरेको करबाट मेरो जीवन चलाएकी छु भने जनता प्रति मेरो पनि उत्तरदायित्व छ । जनतालाई परेको अन्याय, उनीहरूको अधिकारको हनन र मुलुकमा गाँजिएको भ्रष्टाचार विरुद्ध म उभिन पर्छ” (पेज ३४८) यो भनाइले मलाई राम्रोसँग प्रभाव पारेको ।
आफू एक नागरिक भएर सोच्दा दुर्गा सुवेदीको सोच, चिन्तन र विश्लेषणात्मक क्षमताले सुशीला कार्कीको प्रधानमन्त्रित्वकालमा पनि राम्रो अभिभावकत्व दिने कुरामा ढुक्क हुन सकिने लाग्यो । प्रधानमन्त्रीको कर्तव्यबाट विचलन हुन सायद वाहाँले दिनुहुनेछैन भन्ने विश्वास बढ्यो । सारमा स्वच्छ छवि, निडर स्वभाव, न्यायिक स्वतन्त्रतामा अटल विश्वास, र भ्रष्टाचार विरुद्धको अडानलाई प्रमुख पाठको रूपमा प्रस्तुत गर्दछ ‘न्याय’ पुस्तकले ।
महावीर पुनको सम्झना, सपना र अविरल यात्रा (२०८०) पुस्तकमा नदीको पानी जस्तो विगतका वाहाँका जीवनका आरोह-अवरोहका विषयवस्तुहरू मौलिक स्वरूपमा सहज र सरल किसिमले प्रस्तुत भएको छ । सरल र प्राकृतिक प्रस्तुतिले विषयवस्तु जानकारीसहित पाठकलाई व्यवहार परिवर्तनका लागि मनमस्तिष्क हल्लाउँछ । वाहाँ र वाहाँको परिवारको परिवेश र जीवन शैली तथा दिनचर्यामा नेपाली माटो प्रतिविम्बित हुन्छ । एउटा मान्छेले प्रख्याति प्राप्त गर्न धन, कुलीन परिवार वा उपयुक्त वातावरण त खासै महत्वपूर्ण पक्ष नहुने रहेछ, उसको निश्चित लक्ष्यका साथ निरन्तर प्रयासले उसलाई उचाइमा पुर्याउने रहेछ भन्ने भाव उत्पन्न हुन्छ महाविर पुनको बाल्यकाल देखि वैज्ञानिक हुँदासम्मको जीवनलाई जानकारीमा लिँदा । पुनलाई पछ्याउँदै आएका सम्मानहरूको ओइरोले उनलाई घमण्डी बनाएन । उनलाई पदले लोभी र दम्भी बनाउन सकेन भन्ने जानकारी मन्त्री हुनुभन्दा पहिले नै पुस्तकमा लेखिएका विषयवस्तुले जानकारी दिएका छन्, उनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकालमा नै उत्तराधिकारीको सोच बनाइ सकेको कुरा “उत्तराधिकारीको सवाल” भन्ने शीर्षकमा उल्लेख गरेका छन् , जुन अहिलेको समसामयिक राजनीतिक परिवेशमा मननयोग्य विषय बनेको छ (पेज २८१–२८३)। वाहाँलाई बुझ्न पुस्तक नै पढ्नुपर्छ । यो पंक्तिकारको बुझाइमा “आफ्नो जीवनको उद्देश्य स्पष्ट गरी त्यसतर्फ निरन्तर समर्पित हुने हो भने जीवन सुखी हुन्छ, आनन्द प्राप्त हुन्छ” भन्ने कुराको अन्तर्निहित गर्न सकिन्छ पुस्तकबाट ।
ती दुई दर्जन पुस्तक तिनै दुई पुस्तकका जानकारी र बुझाइलाई सत्यापन गर्न नै सहयोगी बने । (सबैको आफ्नो बुझाइको सारसंक्षेप अर्को प्रसंगमा प्रस्तुत गर्ने नै छु ।) व्यक्ति र समाजको समष्टि हो राज्य । व्यक्तिको र समाजको चरित्रबाट नै राज्यको चरित्र बन्ने हो । भन्न त राज्यका प्रमुख तीन पक्ष भनिन्छ, आर्थिक, सामाजिक र राजनीतिक । ती सबै पक्षको नेतृत्वदायी भूमिकामा राखिन्छ राजनीतिलाई । राजनीतिकै कारण मुलुकले आधुनिकता प्राप्त गर्ने सक्यो। सकेन भन्ने चर्चा गरिन्छ । राज्यले ठोस राजनीतिक दिशा लिन नसक्नु, स्थायित्व हुन नसक्नु र आर्थिक विकास अपेक्षित रूपमा हुन नसक्नुमा राजनीतिलाई ठम्याउने गरिएको छ । लोकतान्त्रिक राज्यव्यवस्थाको मूलभूत चरित्र भनेको जनताबाट अनुमोदित राजनीतिक नेतृत्वबाट राज्य सञ्चालन गर्ने हो । हाम्रा व्यक्तिगत र सामाजिक-संस्कृतिक मूल्यमान्यताको प्रतिविम्बको रूप नै राजनीतिक नेतृत्व हुन्छ भन्ने अहिलेको विश्वास हो । नेता ठीक भएनन् भन्ने हाम्रो बुझाइमा थप बुझाइ के पनि हुन जरुरी देखियो भने नेता भएठीक हुनुमा हामी पनि कुनैनकुनै रूपमा दोषी छौं । नेता त दोषी छन् नै ।
उल्लिखित दुई पुस्तक र अन्य समसामयिक पुस्तकले अर्को देशसँग तुलना गरेर विकास भएन भन्ने कुरा गलत रहेछ भन्ने भाव मनमा उत्पन्न भयो । विकासको परिभाषा र बुझाइ नै गलत लाग्यो । जेन्जीले खोजेको विकास त बुझिएन । उनीहरूले बुझेको भ्रष्टाचारको सामान्य बुझाइ प्राकृतिक लाग्यो । भ्रष्टाचार भित्रको मूल कुरो आफन्तवाद र सत्ता ओगटवाद मूल दुई कुरा जरोमा रहेछ । उनीहरूको असन्तोषलाई राजनीतिक पक्षबाटमात्र हेरेर पुग्दैन भन्ने लाग्छ । व्यक्ति, समाज र मुलुकमा मूल्य स्थापित गर्ने अवसरका रूपमा लिइनु पर्दछ । उनीहरूले खोजेको मूल्य र मान्यता पारदर्शिता, समानता र अवसर पनि हो भन्ने कुरालाई मनन गर्नु पर्ने देखिन्छ । यी कुरा हामीले यी दुई पात्रको दिनचर्या र जीवन शैलीलाई अवलम्बन गर्न सके भैहाल्ने रहेछ भन्ने लाग्यो । विशेष गरी सत्तासीनहरूको सरल र सादगीपूर्ण जीवनशैलीबाट प्राप्त हुन सक्दछ ।
हाम्रो विकासको खोजीमा तृप्ति त त्यताबाट पो मिल्ला । गाउँको सामान्यजन होस् वा सहरको डेरामा बसेको मजदुरको दैनिकीबाट विकास बुझे हुँदैन र ! उनीहरू दुई छाक सहजै खान पाएकोमा र चाडवाडको सामान्य गर्जो टार्न सकेमा सुखी र सन्तुष्ट महसुस गरेकाछन् । धनी र आडम्बरी हुनु भन्दा त्यसैलाई विकास माने भएन र भन्ने भाव उत्पन्न भयो । असमानता कम गर्ने र तडकभडक नगर्ने वित्तिकै हामी धेरै सुखी हुने रहेछौं । त्यही हो हाम्रो पनको धनी । विकास । त्यसैलाई मज्जा मानिदिए भयो । त्यसका लागि हाम्री प्रधानमन्त्री र शिक्षा मन्त्रीको सादगीपूर्ण जीवनको अनुसरण सबैले गरे पुगिहाल्छ । धेरै कुराको टाउको दुखाउन जरुरी छैन् ।
राज्यका उच्च तहका व्यक्तिहरू अरुलाई राज्यसंयन्त्र र अधिकार प्रयोग गरेर भलो गर्ने व्यक्तिमात्र होइनन् । उनीहरूको असल चरित्र, बानी व्यवहार र दैनिकीले आम जनमानसमा प्रभाव पारेको हुन्छ । मलाई लाग्छ यी दुई मानिस नेपालका कालजयी पात्र हुन् । तर डर लाग्छ अहिलेको प्रदूषित वातावरणले वाहाँहरूलाई पनि खोटी बनाइ सत्ताबाट बाहिरिनु पर्ने अवस्था पो आउने हो कि । अहिले पत्रकारहरूको अनुहार हेर्दा बाडो होस् पुर्याएर, संवेदनशील भएर, विचर गरेर मात्र उहाँहरूलाई प्रश्न गर्ने गरेका छन् । अरुलाई होच्याएर प्रश्न गर्ने पत्रकारको अनुहार कोच्चिएको हुन्छ, वाहाँहरूसँग सवाल जवाफ गर्दा । त्यो कुनै कूटनीतिक भाषाका कारणले र विशिष्ट प्रकारको अंग्रेजी लवजका कारणले होइन । ब्रह्म र प्रकृतिक बोलिले नै अरुलाई अचम्मित बनाएको छ । सौदाबाजी र हेपाह प्रवृत्तिको होस् उडेको छ ।
आयतित नभएको आत्मगौरव, सेवाभाव र सादगीपूर्ण जीवन शैलीले हामीलाई हामी बनाउँछ । अरुलाई चिनाउँछ । हाम्रो खर्चमा अभूतपूर्व कमी ल्याउँछ । स्वभावत: हुनेका साधन र स्रोत नहुनेकोमा पुग्दछ, कुनै कानून र अधिकारको प्रयोग र कार्यान्वयनबाट होइन, करुणा र सेवाभावबाट, जीवन पद्धतिमा आएको परिवर्तनबाट । सरलताबाट । स्वाभिमानी आन्तरिक व्यवहारबाट । वाहाँहरू दुवैजनाको पारिवारिक जीवनशैलीबाट । पारिवारिक सौहार्दता र सम्झदारीको विकासबाट । जीवन विज्ञान भनेकै सम्झौता हो भन्ने सबैको बुझाइबाट । जेन्जी र त्यसपछिका पुस्ताले पनि यो कुरा सिके हुन्छ । जेन्जीहरू त्यति तडकभडकवाला त छैनन् जति अघिल्लो पुस्ता थियो, जस्तो लाग्छ । तथापि उनीहरूमा पनि मेन्टलको नियम जस्तो सक्नेले नसक्नेलाई होच्याउने र मिच्ने संस्कारको विकास नहोला भन्न सकिँदैन् ।
यदि हामीले डा. गोविन्द केसी, सुशीला कार्की र महावीर पुन बुझ्न सक्यौं र वाहाँहरूको जीवन शैली अवलम्बन गर्ने उद्यत भयौं भने अहिले जस्तो बनेको भौतिक सम्पतिको ध्वंस गर्ने बुद्धि विलय हुन्छ । त्यसले त जडवादी सोचको ध्वंस गर्दछ । हामीमा निर्माणको सोच विकसित हुन्छ । हामीमा भत्काउने संस्कार रूपान्तरित भई हाम्रो व्यवहारमा पवित्रता आउछ । सायद यही हुनसक्छ, आध्यात्मवादको विकसित र परिमार्जित स्वरूप । निराशालाई आशामा बदल्दछ । अल्छीपनलाई जागरूक र कर्मशील बनाउँछ । जसले गर्दा ध्वंस गर्न उक्साउने र तम्सिने प्रवृत्ति नै अन्त्य हुन्छ ।
राज्य सुधार्ने बुद्धिले सबै राजनीतिक आन्दोलन भए तर साथसाथै नागरिक सुधार्ने र सप्रिने पाटो सधैं ओझेलमा परे जस्तो लाग्यो । हामीलाई चरित्र र सरलता अवलम्बन गर्ने गराउने ज्ञान आन्दोलन चाहिएको रहेछ । त्यसैले लोकतन्त्रको आत्मा पद र अधिकार होइन, उत्तरदायित्व समेतको जीवन पद्धति हो भन्ने कुरा सिकाउँछ । राज्यको भविष्य त्यस भूगोलमा बस्ने मानिस र त्यसलाई माया गर्ने समष्टिमा भर पर्छ; हामी राज्यका नागरिकको जीवन पद्धति र जिउने शैली बनाउनतिर लागेनौं । सबै नागरिक सप्रिए देश सप्रन्छ भन्ने बारेमा केन्द्रीय प्रयास हुन सकेन । राजनीतिक दलको संयन्त्र, मानवस्रोत र तागत यसमा प्रयोग गर्न सकेमा मुलुक सहजै रूपमा छिट्टै छुट्टै पहिचान कायम गर्न सामर्थ्य आर्जन गर्नेछ भन्ने तर्फ हेक्का पुर्याउने कुरा संवेदनशील छ । मानिसमा भएको ऊर्जा सकारात्मक र नकारात्मक हो । यसले सकारात्मक ऊर्जा प्रवर्द्धन गर्दछ र नकारात्मक ऊर्जालाई क्रमश: न्यूनीकरण गर्दछ ।
निचोड
विश्वका धेरै नागरिक व्यवहारबाट समृद्ध भएका हुन् , राजनीतिक नेतृत्वको विशिष्ट कार्यशैलीले नागरिक उत्साहलाई बुझिदिएका हुन् । नागरिकको सच्चा लोकतान्त्रिक व्यवहार र अभ्यासबाट राजनीतिक नेतृत्वमा निखार आउँछ भन्ने कुरा मननयोग्य छ । नागरिक लगाव र सक्षमताको आवश्यकता अहिले बदलिँदो संसारमा अझ बढी प्रभावकारी देखिँदैछ । बहुपक्षीय सञ्जालीकरणबाट सिर्जित जटिलता (कम्प्लेक्सिटी), प्रतिस्पर्धा र अति/विशिष्टीकरण (सुपरस्पेसियालिटी) अहिलेको युगका प्रमुख विशेषता हुन्, यो अवस्था अवसर र चुनौती दुवै बनेको छ । जसले हरेक व्यक्तिमा विशिष्टीकृत लगाव खोजेको छ । यसका लागि सुशीला कार्की र महावीर पुन विम्ब हुन् । देशको प्राणतत्व पहिचान गर्न यिनै विम्बलाई सबैले स्वीकार्ने सामर्थ्य राख्नु पर्दछ । गाह्रो केही छैन् । मात्र मन र भावनात्मक स्वीकार्यताको खाँचो हो । मनदेखि नै हामीले आ-आफ्नो ठाउँबाट स्वीकार्यौं भने, अभ्यासका लागि आधार बन्छ। बोध गर्न सक्नुपर्छ, अन्तरबोध । अन्तरबोधले मात्र व्यवहारमा प्रतिविम्बनका लागि पूर्व तयारी हुन्छ ।
उनीहरूको पदमा नरहँदाको दिनचर्या र जीवनशैली सार्वजनिक भएकै पनि छ । कसैलाई कम थाहा होला, कसैले खासै ख्याल गरिएको छैन् होला अर्थात् त्यसले छोएको छैन् । राजनीतिक दलसँगको अन्ध आडम्बरले पूर्वाग्राही पनि छौं । यी सबैमा पुनर्विचार गर्न सकिन्छ गरौं । हामीजस्ता ज्येष्ठ नागरिकका लागि, अन्तर्निहित गरेर व्यवहारमा उतार्ने काम भनेजस्तो सहज नहोला । तर सकिने कुरा हो । दुवैका जीवन र जाँगर समेटिएका पुस्तक (आत्मवृत्तान्त) नपढेकाले पढ्न र पढेकाले पुन:पढ्न अनुरोध छ । देशप्रतिको गहिरो समर्पण र आत्मनिर्भरताको सन्देश दिन्छ । कार्यव्यवहारमा उतार्ने उपाय पहिलिन्छ ।







