काठमाडौँ । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सोमबार बसेको न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले अध्यक्ष कार्कीसहित आयोगका पदाधिकारीविरुद्ध परेको रिट सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो।
यसअघि कार्त्तिक १२ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै आज छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।
दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अन्तिम सुनुवाइका लागि रिट पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो।
अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष कार्कीसहित सदस्य विज्ञानराज शर्मा र विश्ववेश्वर प्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन्। अधिवक्ता ढकालले रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै पनि कार्य नगर्न/नगराउन अन्तरिम आदेश माग गरेका छन्।







