काठमाडौँ । गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका लागि दिँदै आएको विद्युत् महसुल अनुदान रकम कटौती गरेको छ ।
पछिल्लो स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले गत वर्षदेखि प्रत्येक घरधुरीलाई प्रतिमहिना २० युनिट बराबरको विद्युत् महसुलमा अनुदान उपलब्ध गराउँदै आइरहेको थियो ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं अर्थ मन्त्रालयद्वारा सार्वजनिक खर्च कटौती र वितरणमुखी कार्यक्रम सञ्चालन नगर्न परिपत्र गरेसँगै गाउँपालिकाले उक्त अनुदान रकम उपलब्ध गराउन नसक्ने निर्णय गरेको हो ।
अनावश्यक खर्च कटौती गरी मितव्ययिता नीति लागू गर्ने जनाउँदै मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ देखि अर्को निर्णय नभएसम्म अनुदान रकम उपलब्ध गराउन नसकिने भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पाण्डेले जानकारी दिए ।
संघीय सरकारको निर्देशनका कारण पालिकाले उक्त निर्णय गर्नुपरेको भन्दै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले सरकारले नागरिकले उपभोग गर्दै आएको सुविधा कटौती गर्दा त्यसको अपजस सबै जनप्रतिनिधिले व्यहोर्नुपर्ने अवस्था आएको बताए ।
यसले विपन्न नागरिक र सामुदायिक खानेपानी योजनामा केही आर्थिक समस्या पर्ने कुँवरले बताए ।







