काठमाडौँ । जेन जेड प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेश सभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा उक्त दिन दिउँसो १ बस्ने गरी बैठक तय भएको प्रदेश सभा सचिवालयले आज सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
‘जेन जेड’ प्रदर्शनका क्रममा गण्डकी प्रदेश सभा भवन क्षतिग्रस्त बनेपछि उक्त मन्त्रालयको सभाकक्षमा प्रदेश सभा बैठक सञ्चालन हुन लागेको हो ।
यसअघि गत असोज २२ गते सोही स्थानमा बैठक आह्वान गरिए पनि प्राविधिक तयारी नपुगेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।
पछिल्लो पटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि भदौ २५ गतेका लागि बोलाइएको बैठक ‘जेन जेड’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरिएपछि बस्न सकेन ।
पुन:प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेश सभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेश सभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
हालै मात्र प्रदेश सभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेश सभाका कामकारबाही सञ्चालन हुने जनाइएको छ ।
‘जेन जेड’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरिएको थियो ।







