काठमाडौँ । झापाको विर्तामोड नगरपालिका-६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ ।
गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको इन्सास थान १ (क्रम सङ्ख्या (३११००८७२), म्याग्जिन थान-१, १९ राउण्ड साबुत र २ राउण्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार साँझ ४:४५ बजे विर्तामोड-६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काले बताए ।
जेन जेड आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए । तीमध्ये ८१ थान हतियार फेला परिसकेको छ । जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा हतियार फेला परिरहेका छन् ।







