काठमाडौँ । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिनामा जिल्ला प्रहरी कार्यालय कास्कीले जाहेरी दरखास्त दिन आह्वान गरेको छ । सहकारीमा भएको बचत तथा कारोबारको प्रमाण, कागजातसहित २ मंसिरभित्र जाहेरी दिन बिहीबार आह्वान गरेको हो ।
सहकारीको रकम संस्थाका अध्यक्षसहित पूर्व तथा वर्तमान पदाधिकारी, व्यवस्थापकसमेतको मिलेमतोमा व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा अपचलन गरेको पाइएको छ ।
सहकारी संकटमा परेपछि सहकारी डिभिजन कार्यालयले गराएको वित्तीय विश्लेषण अध्ययन प्रतिवेदनका आधारमा प्रहरीले कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार अध्यक्ष महेन्द्र गोदार, उपाध्यक्ष, शम्भुराज बास्तोला, प्रबन्धक भीष्मप्रताप गुरुङ, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ, बजार प्रमुख वेदीप्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।
उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले सहकारीका बचतकर्ता, शेयर सदस्य तथा ऋणका नाममा जाहेरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको हो ।







