काठमाडौँ। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ।
नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए।
काठमाडौँमा उपलब्ध भएकाहरूको दरखास्त सुरु गरेको र जारी रहने विघटित प्रतिनिधि सभाका सदस्य हेमराज राईले बिहीबार नै जानकारी दिएका थिए।
संकलित हस्ताक्षर कसरी प्रयोग गर्ने भन्नेमा भने एमालेका नेताहरूले प्रष्ट केही भनेका छैनन्। सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा भनेर मत प्रकट मात्रै गर्ने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिएका छैनन्।
सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन्। त्यसउपर छलफल भएर कारण देखाऊ आदेश जारी भइसकेको छ।
कारण देखाऊ आदेश जारी हुनु अगाडिको बहसमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनको विषयमा कतिजना सांसद अदालत आए भनेर प्रश्न समेत गरेका थिए ।







