काठमाडौँ । मधेश प्रदेशमा विवादित रूपले गठित सरकारमा मन्त्री बनेकी कञ्चन विच्छा साहलाई राप्रपाले स्पष्टीकरण सोधेको छ ।
पार्टी र नेतृत्वसँग कुनै छलफल परामर्श बिना मन्त्रीमण्डलमा समावेश भएको विषयमा स्पष्टीकरण माग गरिएको हो ।
एमालेका सरोज यादवको सरकारमा विच्छा बिना विभागीय मन्त्री बनेकी छिन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई समेत जानकारी नदिईकन उनले मन्त्रीको शपथ खाएकी हुन् । लिङदेनले हिजै सामाजिक सञ्जालमा स्टटास लेखेर विच्छालाई फिर्ता हुन भनेका थिए ।
स्रोतका अनुसार विच्छाले फिर्ता हुन नमानेपछि केन्द्रीय अनुशासन समितिमार्फत कारबाही प्रक्रिया सुरु गरिएको हो । समितिका सदस्य सचिव भक्तिप्रसाद सिटौलाले उनलाई पठाएको स्पष्टीकरण पत्रमा पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुने गरी गैह्रजिम्मेवारपूर्ण एवं अनुशासनहीन कार्य गरेको उल्लेख छ ।
‘सो सम्बन्धमा तपाईँलाई राप्रपाको विधानबमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए २४ घण्टाभित्र लिखित स्पष्टीकरणसहित पेश गर्न हुन केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्छु ।’ पत्रमा भनिएको छ ।







