काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा प्रमाण अनधिकृत रूपमा सार्वजनिक गर्ने बहालवाला तथा पूर्वप्रहरी कर्मचारीमाथि कारवाही गर्ने जनाएको छ ।
प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा संकलीत सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना कसैलाई उपलब्ध नगराउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ ।
अनुसन्धानसँग सम्बन्धित गोप्य विवरण चुहावट भएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका सामग्रीप्रति प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता गतिविधिले व्यक्तिको वैयक्तिक गोपनीयता, अनुसन्धानको निष्पक्षता र संवेदनशीलतामा असर पुर्याउनुका साथै प्रहरी संगठनको गरिमामा समेत आँच पुग्ने प्रधान कार्यालयको भनाइ छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अनुसन्धानका गोप्य सामग्री अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने कार्य प्रचलित कानुन र प्रहरी आचरण विपरीतको गम्भीर कसुर भएको उल्लेख छ ।
प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ७१ अन्तर्गतको आचरणसम्बन्धी व्यवस्था उल्लंघन गर्नेलाई नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ को उपदफा (३), (४) र (५) बमोजिम विभागीय तथा कानुनी कारबाही हुन सक्ने स्पष्ट पारेको छ ।
सेवामा कार्यरत तथा सेवाबाट अलग भइसकेका प्रहरी कर्मचारीलाई सूचना चुहावटसम्बन्धी गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन निर्देशन दिइएको छ । प्रधान कार्यालयले प्रहरी कर्मचारीलाई पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन र संगठनात्मक जिम्मेवारीप्रति सचेत रहनसमेत आग्रह गरेको छ ।
गैरकानुनी गतिविधिमा बहालवाला वा पूर्वप्रहरी कर्मचारीको संलग्नता रहेको अथवा त्यस्तो कार्यमा प्रोत्साहन, सहयोग वा सहजीकरण गरेको पाइए आवश्यक छानबिन गरी प्रचलित कानुन तथा संगठनको नीतिगत व्यवस्थाअनुसार कारबाही गरिने प्रधान कार्यालयले जनाएको छ ।







