काठमाडौँ । आज सम्पन्न सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले समापन मन्तव्य दिँदै राष्ट्रिय स्थितिबारे स्पष्ट, भावनात्मक र सशक्त धारणा राखेकी छन्। बैठकमा १२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थिति रहेको थियो, जसमा ५६ जनाले आफ्ना धारणा राखे। प्रधानमन्त्री कार्कीले सबैको भनाइ ध्यानपूर्वक सुनेको बताउँदै दलहरूबीच आपसी समझदारी र नजिकियताको आवश्यकता दोहोराइन्।
प्रधानमन्त्रीले देशमा हालै भएका दारुण घटनाहरूको स्मरण गर्दै निर्दोष नागरिक, बालबालिका, घाइते तथा सहिद परिवारको पीडाले आफूलाई राजनीति बाहिरको जीवनबाट यतै तानेको बताइन। “हाम्रा बच्चाहरू यसरी मारिए‘ दुई वर्षकी छोरीले बाबु खोजिरहेकी छ। यस्तो कहिल्यै नहोस्,” भन्दै उहाँ भावुक भइन्। भ्रष्टाचार, निराशा र आक्रोशकै कारण ठूलो विस्फोट भएको भन्दै अब देश सम्हाल्नुपर्ने जिम्मेवारी सबैको साझा रहेको उल्लेख गरिन्।
न्यायाधीश र वकिल जस्ता पेसाबाट आएका आफू र मन्त्रीहरू सत्ता–सुविधाका लागि नभई राष्ट्रका लागि खटिएको बताउँदै उहाँले महावीर पुनदेखि कुलमान घिसिङजस्ता अपहेलित व्यक्तिलाई सरकारमा ल्याएको उल्लेख गरिन्। “हामी गाडी चढ्ने रहरले यहाँ आएका होइनौँ। म प्रधानमन्त्री हुँ भन्ने गौरवसमेत छैन,” प्रधानमन्त्रीले भनिन्।
निर्वाचन तयारी ६० प्रतिशत सम्पन्न भइसकेको जनाउँदै प्रधानमन्त्री कार्कीले मुक्त, निष्पक्ष र कम खर्चमा हुने निर्वाचन नै सरकारको प्रमुख उद्देश्य रहेको स्पष्ट पारिन्। “म चुनाव लड्दिनँ, देश नयाँ पुस्ताको हातमा सुम्पन चाहन्छौँ,” उनको भनाइ थियो।
प्रधानमन्त्रीले सुरक्षा क्षेत्रमा भएको सुधारबारे पनि प्रस्ट पार्दै ८२१ मध्ये सबै लुटिएका हतियार फिर्ता आइसकेको, ७ हजार कैदी बन्दी नियन्त्रणमा भइसकेको तथा प्रहरी मनोबल उठाउन निरन्तर काम भइरहेको बताइन्। “नेता र तिनका आफन्तका घरमा भाँडा माझ्न प्रहरीले जानुपथे, त्यो अन्त्य गर्यौँ। अब भन्नुस् मनोबल कसले घटायो र कसले बढायो ?”
प्रशासनिक पारदर्शिता र सुशासनका विषयमा बोल्दै प्रधानमन्त्रीले विदेशी भेटघाटदेखि मन्त्रिपरिषद्को निर्णयसम्म सबै प्रक्रिया सिंहदरबारमै गरेको उल्लेख गरिन्। मिडिया आलोचना स्वाभाविक भएको बताउँदै उनले गलत समाचारहरूबाट आफू प्रभावित नहुने पनि बताइन्।
अख्तियार, सीआईबी र अन्य निकायहरूले गम्भीर भ्रष्टाचार तथा अपराधका मुद्दामा द्रुतगतिमा अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले अनुसन्धान समय लाग्ने प्रक्रियात्मक काम भएको स्मरण गराइन्।
अन्त्यमा प्रधानमन्त्री कार्कीले धन्यवाद अहिले दिने समय नभएको बताउँदै भनिन्— “हामीलाई अहिले धन्यवाद दिनुपर्दैन। जुन दिन निर्वाचन हुन्छ, त्यसको भोलिपल्ट धन्यवाद दिनुहोला।”
समापन मन्तव्यपछि उनले संक्षिप्त रूपमा “सेवारो” भनी बैठक अन्त्य गरिन्।







