काठमाडौँ । यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरबाट बिचौलियाको आरोपमा सात जनालाई नियन्त्रणमा लिइएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सेवाग्राहीबाट प्राप्त गुनासोका आधारमा मन्त्रालयको अगुवाइमा उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री लम्सालले मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै यातायातलगायत मन्त्रालयअन्तर्गतका सबै क्षेत्रलाई बिचौलियामुक्त बनाउने अभियान अघि बढाएको बताएका छन् ।
केन्द्रीय विभागबाट प्रवाह हुने सेवामा समस्या नरहेको उल्लेख गर्दै उनले प्रदेश मातहतका कार्यालयबाट पनि सोहीअनुरूप सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरेका छन् ।
मन्त्री लम्सालका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्तासम्बन्धी सेवामा सेवाग्राही कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता घटाउँदै अधिकतम सेवा अनलाइनबाटै उपलब्ध हुने व्यवस्था मिलाइएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि यी दुवै सेवासम्बन्धी सम्पूर्ण प्रक्रियाको डिजिटल अभिलेख राख्न थालिएको छ ।
सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि सेवा प्रदायक आफैँ छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ भने लाइसेन्स छपाइको अवस्थाबारे पनि अनलाइनबाटै जानकारी लिन सकिने मन्त्री लम्सालले बताएका छन् ।






