काठमाडौँ । वीरगन्ज नाका हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकको सुरक्षा जाँचलाई व्यवस्थित बनाउन वीरगन्ज नाकाको प्रवेशद्वारमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत सीमा सुरक्षा बिट निर्माण गर्न थालिएको छ।
वीरगन्ज महानगरपालिका-१६ शंकरचार्य प्रवेशद्वार नजिकको मितेरी पुल छेउमा एकीकृत सुरक्षा बिट निर्माण गर्न थालिएको हो।
वीरगन्ज नाका हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्साको अन्तिम सिमानामा गण्डकसम्म गरी ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा चेकजाँच गर्दा भारतीय पर्यटकले हैरानी खेप्दै आएका थिए।
त्यसैलाई मध्यनजर गरी अब वीरगन्ज रक्सौल नाकामा नेपालतर्फको मितेरी पुल छेउमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत सुरक्षा बिट निर्माण गर्न थालिएको हो। बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एकीकृत सुरक्षा बिट निर्माणको शिलान्यास गरेका हुन्।







