मुख्यसचिव चयन निर्णायक मोडमा पुगेसँगै बाह्य हस्तक्षेपको आशंका चुलिएको छ। आकांक्षीबीच प्रतिस्पर्धा बढ्दा सरकारलाई कार्यक्षमता, समन्वय-क्षमता र चुनावी प्रतिवद्धता पूरा गर्न सक्षम नेतृत्व चयन दबाब झनै तीव्र बनेको छ।
काठमाडौँ । प्रशासनिक नेतृत्व परिवर्तनको संवेदनशील घडीमा बाहिरी प्रभाव झनै तीव्र बन्दै गएको आकलन भइरहेका बेला मुख्यसचिव नियुक्तिको अन्तिम चरण पुग्न लागेको छ । पछिल्लो समय नेपालमा उच्च तहका पदस्थापनमा विभिन्न शक्ति-समूह, ठेकेदार र बिचौलिया तत्त्वको चलखेल रहने गरेको आलोचना दोहोरिँदै आएको छ । विविध उदाहरणले पुष्टि गरेको यो प्रवृत्ति अहिले देशको सर्वोच्च प्रशासनिक पदमा पनि प्रत्यक्ष रूपमा झल्किन थालेको जनाइएको छ ।
मुख्यसचिव एकनारायण अर्याल मङ्सिर ९ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषय व्यापक चासोको केन्द्र बनेको छ । राजनीतिक, व्यापारिक, कूटनीतिक तथा निर्णय-प्रक्रिया नजिकबाट हेर्ने सबैको ध्यान अहिले यही प्रसंगमा केन्द्रित छ, जसलाई सामान्य मान्न कठिन छैन । मुख्यसचिव पदसम्बन्धी कुनै पनि प्रकारको सौदाबाजीलाई निरुत्साहित गर्न मुख्यसचिव एकनारायण अर्यालले आफू स्वाभाविक अवकाशमा जाने तयारी पूरा गर्दै पेन्सन पट्टा समेत बनाइसकेका छन् । उनले आगामी निर्णयमा आफ्नो कुनै पक्षपात नहुने स्पष्ट पारेका छन्।
यसैबीच, सम्भावित उम्मेदवारहरूबीच प्रतिस्पर्धा बढेका संकेत प्रशासनिक वृत्तमा सुनिन थालेका छन् । स्वस्थ प्रतिद्वन्द्विता स्वाभाविक भए पनि वर्षौंदेखि परिचित बिचौलिया तथा बदनाम ठेकेदार समूहले विभिन्न माध्यमबाट प्रभाव जमाउन प्रयासरत भएको चर्चा पनि भित्रभित्रै तीव्र छ । यस्तो प्रवृत्ति पुन: दोहोरिएमा नियुक्तिपछि पनि अनुचित प्रभाव बढ्ने भएकाले प्रक्रियालाई विचलित गर्ने तत्वहरूबाट दूर रहनुपर्ने चेतावनी विशेषज्ञहरूले दिएका छन् ।
नेपाल सरकारका सचिवहरुमध्येबाट सरकारलाई उपयुक्त लागेको व्यक्तिलाई मुख्यसचिव नियुक्त गर्न सक्ने भएपनि स्थापित मूल्य तथा मान्यतामा रहेर नै नियुक्त हुने गरेको परिपेक्ष्यमा वर्तमान सरकार त्यो भन्दा पर रहेर निर्णय गर्न सक्नेबारे खासै चर्चा सुनिँदैन । यतिबेला चर्चामा रहेका मुख्यसचिवका चार आकांक्षीहरुमा सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधु सुदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर रहेका छन् । जसमध्ये सुमनराज अर्याल र डा. कृष्णहरि पुष्कर बढी चर्चामा छन् ।
सबैजना उही आर्थिक वर्षका सचिव भएकाले अनुभव, समन्वय-क्षमता र संस्थागत बुझाइलाई आधार बनाउने अपेक्षा कर्मचारी वृत्तमा छ । कार्यकाल, कार्यक्षमता, अधिक स्वीकार्यता तथा वर्तमान सन्दर्भमा उपयुक्त नेतृत्वतालगायत विषयहरु सरकारको आन्तरिक मूल्याङ्कनमा निर्भर हुनेछ ।
यसअघि विभिन्न समयमा मुख्यसचिव नियुक्तिले अनेकन् विवाद निम्त्याएको इतिहास छ । वरिष्ठताको क्रमदेखि कमजोर कार्यक्षमता तथा बाहिरी तत्वको प्रभावमा गरिएका नियुक्तिले अनेकौँ अड्चनहरु निजामतीयन्त्रले खेप्दै आएको स्मरण प्रशासनले राखेको छ ।
मुख्यसचिव सरकारका प्रमुख प्रशासनिक सल्लाहकार, मन्त्रालयहरूका लागि समन्वय-केन्द्र र नीतिगत निर्णयका प्रभाव विश्लेषकका रूपमा अत्यन्त महत्वको भूमिका निर्वाह गर्ने पद हो । त्यसैले सबै निकायसँग सन्तुलित संवाद गर्न सक्ने, नीति-निर्णयका सम्भावित असर बुझ्न सक्षम, सचिवस्तरसँग विश्वासको वातावरण बनाउन सक्ने तथा स्थायी संयन्त्रको कार्यशैली गहन रूपमा अध्यायन गरेका व्यक्ति छनोट हुनु अपरिहार्य मानिन्छ ।
यी सबैका बाबजुत पनि अहिले सरकार र कर्मचारीयन्त्रका लागि सबैभन्दा आवश्यक भनेको निर्वाचन गराउन कुनै कसुर बाँकी नराख्ने गरी कटिबद्ध भई खट्न सक्ने र सचिवहरुलाई विश्वासमा लिएर सरकारका कामकारवाही अगाडी बढाउन सक्ने हो । अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण कार्यक्षमता नै हो भने निर्णायक क्षमता आजको आवश्यकता हो । त्यससँगै संगठनलाई सही दिशा दिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्नु नै हो ।
सबै क्षेत्रबाट आक्रमण भईरहेको अवस्थामा आन्तरिक सुधारसँगै बाह्य दृष्ट्रिकोणमा परिवर्तन ल्याउनु सबैभन्दा ठूलो जिम्मेवारी तथा चुनौती रहेका छन् । सचिवहरुको मनोबल उकास्ने र कामप्रति प्रतिबद्ध गराई काम लगाउने मुख्य सचिव चाहिएको छ यतिबेला । इमान्दारीतासँगै प्रधानमन्त्रीसँग बसेर मन्त्रीसँग समन्वय गरी काममा सहजता ल्याउन सक्ने मुख्यसचिवले मात्रै अहिलेको सरकारको म्याण्डेड पुरा गर्न सहयोगी हुन सक्छ ।
मन्त्री र सचिवको समन्वयसँगै, कतिपय मन्त्रीका प्रस्ताव रोक्ने हैसियत तथा सरकारको समग्र नीतिगत दिशामा प्रभाव पार्ने क्षमता मुख्यसचिवमा अपरिहार्य रूपमा चाहिन्छ नै । पद नभए पनि प्रभाव मन्त्रीसरह मानिने भएकाले त्यसो गर्न योग्य, परिपक्व र संस्थागत मर्यादा बुझ्ने व्यक्तिले मात्र त्यो पद डिजर्भ गर्न सक्छ ।
मुख्यसचिव राजनीति र प्रशासनबीचको समन्वयकारी, सहजकर्ता, व्यवस्थापक र संरक्षक सबै हो । आवश्यक परे राजनीतिले अघि सार्ने गलत निर्णयहरू रोक्न र उचित नीति गराउन सक्ने क्षमता मुख्यसचिवमा रहनुपर्छ । यस पदमा ‘हस् बहादुर’ होइन, विवेकशील, संयमित र जिम्मेवारीबोधयुक्त नेतृत्व अपरिहार्य छ ।
यतिबेला चुनावी सरकार भएकाले राजनीतिक हस्तक्षेप कम देखिने अपेक्षा गरिए पनि अन्तिम निर्णयले नै वास्तविकता पुष्टि गर्नेछ । बरिष्ठता, अनुभव, कौशल र संस्थागत सन्तुलन कसरी तोलिन्छ भन्ने प्रश्न केही घण्टामै स्पष्ट हुनेछ ।







