काठमाडौँ। संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै गएको छ ।
एक भन्दा बढी दलहरूले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहे निर्वाचन आयोगसँग स्वीकृति लिनुपर्छ । कुन दलको चुनाव चिह्नमा संयुक्त चुनाव लड्ने हो त्यसबारे आयोगमा निवेदन दिनुपर्ने हुन्छ । त्यसअनुसार आयोगले निर्णय दिनेछ ।
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल संयुक्त चुनाव चिह्नमा चुनाव लड्न चाहेका छन् । यी दुई पार्टीले बिजुलीको चिम चुनाव चिह्नमा निर्वाचन लड्ने भनेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी गरेका छन् । यी तीनवटा दलले जाँतो चुनाव चिह्नमा निर्वाचन लड्न आयोगमा निवेदन दिएका छन् ।
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल चुनाव चिह्नमा चुनाव लड्ने भनेर निवेदन दिएका छन् ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । जसअनुसार दुई वा दुई भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्छन् ।
संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो त्यो समेत खुलाउनु पर्नेछ ।







