काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेमा उकुसमुकुस भइरहेको बताएका छन्। जसपासहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै एमालेमा पनि वामपन्थी र सच्चा देशभक्त नेताहरू रहेको बताए।
उनले भने, ‘त्यहाँ भएकाहरूलाई उकुसमुकुस भएको देखेका छौँ हामीले। हामी छलफलमा छौँ। हामीले तपाईंहरुसँग हातेमालो गर्न चाहेका छौँ। गलत प्रवृत्ति र नेतृत्व हुँदा कति ठुलो क्षति हुँदो रहेछ भन्ने कुरा हामीले देखिसक्यौँ।’
एमालेभित्र रहेका वामपन्थी नेताहरूसँग खुला मनले हात बढाउन चाहेको बताए।
उनले थपे, ‘तपाईँहरूले फेरि समीक्षा गर्नुस् इतिहासको, हामीले एकता त गरेकै थियौँ। तर नेतृत्व गलत मान्छेको हातमा पुग्दा केके भोग्नपर्यो ? समय आएको छ, त्यहाँभित्रका साथीहरूले सत्यको पक्षमा आवाज उठाउन थालिसक्नुभएको छ, त्यो दब्ने वाला छैन। दिनप्रतिदिन अगाडि बढ्नेछ। बृहत् वामपन्थी एकतामा पुगेर मात्रै विश्राम लिनेछ।’
उनले राष्ट्र बचाउन काँग्रेससहित सबै दलसँग सहकार्य गर्नुपर्ने बताएका छन्।







