म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुंगा-मिलन चोक खण्डमा कालोपत्र भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी सडकअन्तर्गत मालढुंगा-मिलन चोक खण्डको नौ किलोमिटरमा अस्फाल्ट प्रविधिको कालोपत्र भएपछि आवागमन सहज हुनाका साथै यात्रा अवधि छोटिएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईँका अनुसार १३ किमी दूरीको उक्त सडकअन्तर्गत मिलन चोक-बेनी खण्डमा पनि कालोपत्रको तयारी भइरहेको छ । यसअघि गत वर्ष मालढुंगा-फर्से खण्डमा तीन किमी ३०० मिटरमा कालोपत्र र दुई किमी २०० मिटर ढलान भएको उनले जानकारी दिए ।
लस्ती-बेनी खण्डको छ किमी ५०० मिटर सडक यही मङ्सिर पहिलो सातादेखि कालोपत्र गर्न थालिएको छ । लस्ती-केराबारी-मिलन चोक खण्डको काम शुक्रबार सम्पन्न भएको सूचना अधिकारी चापागाईँले बताए । उनका अनुसार बारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक/एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।
पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगाबाट जलजला गाउँपालिका-८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने यो सडक दुई लेनको बनाएर कालोपत्र विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीसँग रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
कोरोना महामारी, बाढी पहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायत कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको आयोजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका सूचना अधिकारी चापागाईँले बताए ।
जलजला-७ मिलनचोकका बासिन्दा जमुना आचार्यले सडक कालोपत्र भएपछि एक घण्टाको यात्रा अवधि २०-२५ मिनेटमा छोटिएको बताए । सवारीसाधनको आवागमन सहज हुनाका साथै समयको पनि बचत भएको उनको भनाइ छ ।
यो सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत विसं २०५२ मा मार्ग खुलेको मालढुंगा-बेनी सडकअन्तर्गत बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो ।







