काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले मुद्दामाथि सुनुवाइ गर्दै नेपाललगायतका प्रतिवादीहरूको साक्षी झिकाइ भौतिकरुपमा वा श्रव्यदृष्य माध्यम भिडियो (कन्फ्रेन्स) मार्फत उपस्थित गराइ वकपत्रको निमित्त इजलासमक्ष पेश गर्न आदेश दिएको हो।
यस्तै, मुद्दाको विषयसम्वद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको निर्णयसहितको फाइल झिकाउन पनि आदेश भएको छ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।







