काठमाडौँ। जिल्ला अस्पताल अछाममा हाडजोर्नी विशेषज्ञ र दन्त उपचार सेवा सुरु भएको छ ।
जिल्लामा हाडजोर्नी सम्बन्धी डाक्टर नहुँदा सेवा लिन बयालाटा अस्पताल वा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर केही दिनदेखि जिल्ला अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएको हो ।
हाडजोर्नी विशेषज्ञ र दन्त उपचार सेवा सुचारु गरेको महिना दिने नपुग्दै सेवा प्रभावकारी बन्दै गएको हो । अस्पतालले विभिन्न विशेषज्ञ सेवा सुचारु गर्न थालेपछि बिरामीहरूको चाप बढ्दै गएको छ ।
पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक ७र८ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको दन्त रोग विशेषज्ञ डाक्टर सन्जित कुमार मण्डलले बताए ।
साथै डेन्टलबाट दाँतको एक्सरे सेवा ,आर.सी.टी सेवा , किराले खाएको दाँतको उपचार , दाँत फाल्ने , दाँत भर्ने , दाँत सफा गर्ने , बांगाटिंगा दाँत सिधा गराउने लगायतका सेवा बिरामीले प्रदान गरिने डाक्टर मण्डलले बताए ।
जिल्ला अस्पताल अछाममा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मनिश गोइत आए सँगै करिब १ महिनामा ५३० जनाले सेवा लिएका छन् । जसमध्ये ४५० जनाले ओपिडी सेवा र ८० जनाले इमर्जेन्सीले सेवा लिएका छन् । अस्पतालमा सेवा लिन आएका मध्ये ४ जनाको के वाएर ,२ जनाको पेलेटिङ , १ जनाको टेण्डेन रिपेरिङ गरिएको
हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर गोइतले बताए।
अस्पतालमा विशेषज्ञ सेवाहरू नहुँदा चर्को मूल्य तिरेर जिल्ला बाहिर उपचार गर्नु पर्थ्यो , अहिले दन्त सेवा अस्पतालकै कार्यकक्षमा खुलेपछि बिरामीहरूमा खुसी पलाएको छ ।
यो भन्दा पहिले अस्पतालमा गाइनो सर्जरी र अटिल प्रकृतिका अप्रेसनहरू जिल्ला अस्पताल अछामका निमित्त मेसु विशेषज्ञ डाक्टर कमलेश प्रसाद यादवले गरिरहेका थिए ।
विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सामग्री र जटिल प्रकारको सर्जरी गर्नु परेमा आवश्यक पर्ने औजार उपकरण थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि आवश्यक पहल गरिरहेको मेसु यादवले बताए । निकट भविष्यमै थप विशेषज्ञ सेवा थप्दै जाने योजना रहेको उनको भनाइ छ ।
जिल्ला अस्पतालमा आइसियु सेवा सुचारु गर्ने तयारी अवस्थामा रहेको र १–२ दिनमा सो सेवा सञ्चालनमा आउने डाक्टर यादवले बताए।
अस्पतालमा सेवा विस्तार गर्ने क्रममा हाड जोर्नीका र दन्त रोगका बिरामीलाई सहज रूपमा अछाम अस्पतालमै सेवा दिने उद्देश्यसहित हाडजोर्नी र दन्त चिकित्सकको व्यवस्थापन गरिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए । ग्रामीण भेगका नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पहाडी जिल्ला अछाममा विशेषज्ञ सेवा सुचारु गरिएको उनको भनाइ छ । विशेषज्ञ सेवा जिल्लामै उपलब्ध गराउँदा जनताको समय, पैसा र श्रमको बचत हुने विश्वास लिएको र यसले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै सुनिश्चित गर्ने अभियानलाई थप बल मिलेको छ ।
परामर्श सेवा बाट सेवा सुविधा पाउने गरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको हो ।
सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्य अछाम जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन नभएकोले त्यसको लागि संघीय सरकार सँग पहल भइरहेको मन्त्री खड्काले बताए । हाडजोर्नी तथा नशारोग र दन्त रोग बाट ग्रसित बिरामीहरूले उपचारका लागि जिल्ला बाहिर काठमाडौँ जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमको पहल तथा युनिसेफ,छाया नेपाल, जिआइ जेटको लागत साझेदारीमा जिल्ला अस्पतालमा खानेपानी सरसफाइ तथा स्वास्थ्यजन्य फ़ोहोरमैला व्यवस्थापन स्रेडर हाउस निर्माणको काम पनि सुरु भइरहेको अस्पतालले जनाएको छ ।







