२काठमाडौँ । ४ असारको बाढीले क्षतिग्रस्त रसुवागढी नाकामा नयाँ बेलिब्रिज जडान भएको छ । पुलको प्राविधिक परीक्षण चलिरहेको र समस्या नदेखिए अर्को सातासम्म नाका सञ्चालनको तयारी छ ।
रसुवा प्रशासनले पुल निर्माण सकिएको र परीक्षणपछि अर्को सातासम्म नाका खुल्ने आफूहरूको अपेक्षा रहेको बताएको छ ।
पुल निर्माणको काम सम्पन्न भएपछि नेपाली पक्षले नाका सञ्चालनका लागि आफ्नो तयारी थालेको छ । रसुवागढी भन्सार कार्यालयले दैनिक ५०-६० वटा गाडी जाँचपास गर्न सकिने जानकारी गराएको छ । बाढीले पुलसँगै बगाएको भन्सारको यार्ड पनि बनाउने काम जारी छ । बाढीले पुलसँगै नेपालतर्फ सडकमा पनि ठुलो क्षति पुर्याएको छ । हाल ट्र्याक खोलेर सडक कामचलाउ रूपमा सञ्चालन भइरहेको छ । नाका खुलेपछि रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म एकतर्फी रूपमा सडक सञ्चालन गर्ने योजना रहेको प्रसाशनले जनाएको छ ।
रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म १६ किलोमिटर सडक पानी परेपछि सञ्चालन गर्न कठिन हुने अवस्था छ । सडक निर्माणको ठेक्का पनि गल्छी-सैलुङ-स्याफ्रुबेँसी-सुवागढी सडक सुधार आयोजनाले चिनियाँ ठेकदार कम्पनीलाई नै दिइसकेको छ । सो कम्पनीले कामदार राख्न क्यापहरू निर्माण गरिसकेको छ । नाका खुलेलगत्तै थप काम सुरु गर्ने उनीहरूले जानकारी गराएका छन् ।







