काठमाडौँ । कवाड व्यवसायीहरूले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेको छ ।
कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले काठमाडौँ महानगरपालिकाले कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि विगत दुई वर्षदेखि अन्यायपूर्ण दमन गरिरहेको आरोप समेत लगाएको छ ।
कवाड व्यवसायी ओमप्रकाश सिंहले कवाड व्यवसायीहरूले मुलुकमा सञ्चालित धातुजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको भए पनि महानगरपालिकाले व्यवसायीमा अन्याय गरिरहेको बताए।
उनले कवाड व्यवसायले देशको व्यापार घाटा घटाउन, राजश्व संकलन बढाउन र वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको दाबी गरे। उनले कवाड संकलन व्यवसायी र मजदुरमाथि कुटपिट गर्ने, संरचना भत्काउने, सामान जफत गर्ने, साइकल खोस्ने, अपहरण शैलीमा मान्छे लैजाने तथा मानसिक त्रास सिर्जना गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्।
उनले संविधानले सुनिश्चित गरेको व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न, कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्न तथा यसमा संलग्न काठमाडौँ महानगर प्रहरी र जिम्मेवार व्यक्तिमाथि कानूनी कारबाही गर्न माग गरे।
उनले भने, ‘विभिन्न धातुजन्य उद्योगहरूको लागि आवश्यक कच्चा पदार्थ कवाड व्यवसायीहरूले आपूर्ति गर्दै आइरहेका छन् । देशको व्यापार घाटा कम गर्न तथा राजश्व संकलनमा समेत कवाड व्यवसायको ठूलो भूमिका रहेको छ । हाल यो व्यवसायमा एक लाखभन्दा बढी मानिस प्रत्यक्ष रूपमा आबद्ध रहेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छौँ । वातावरणको सरसफाईमा समेत कवाड व्यवसायको योगदान रहेको छ । तथापि महानगरपालिकाद्वारा विगत दुई वर्षदेखि कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब आम वर्गमाथि अन्यायपूर्ण कार्य, शारीरिक कष्ट, संरचना भत्काउने, समान जफत गर्ने, अपहरण शैलीमा मान्छे लैजाने, साइकल लैजाने र मानसिक त्रास सिर्जना गर्ने कार्य निरन्तर भइरहेको छ ।’
उनले काठमाडौँ महानगरद्वारा पीडित बनाइएका फुटपाथ व्यवसायी तथा अन्य साना व्यवसायीहरूलाई समेत आफूहरूसँग सहकार्य गर्न आह्वान गरेका छन्। उनले सरकारले आफूहरूका मागहरू यथाशक्य सम्बोधन नगरे जेड जेड पुस्तासँगको सहकार्यमा आन्दोलनका थप कार्यक्रमहरू अगाडि बढाउने चेतावनी समेत दिएका छन्।







