काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यम/व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यपछि कोशी प्रदेशमा सञ्चालित साना तथा लघु व्यवसायले सहजरूपमा कर्जा पाउने अपेक्षा गरिएको छ। लगानीको अभावका कारण व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूलाई कर्जाको पहुँच सहज भएसँगै व्यवसाय विस्तार र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।
सम्झौताअनुसार, डिएआई–उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकका कोशी प्रदेशभित्रका सबै शाखा कार्यालयमार्फत सहजरूपमा कर्जा सुविधा प्राप्त गर्नेछन्।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलअन्तर्गत, कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा डिएआई–उदय परियोजनाले कोशी प्रदेशका सबै जिल्लामा कार्य गर्दै आएको छ।
परियोजनाले नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायत क्षेत्रका व्यवसायलाई कर्जा उपलब्धता र व्यावसायिक उन्नतिका लागि वित्तीय स्रोतमा पहुँच सहज बनाउँदै आएको छ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित भइसकेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट नेपाली नागरिकलाई आर्थिक सेवा प्रदान गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।







