काठमाडौँ । विशेष अदालत काठमाडौँले स्वास्थ्य बीमाको रकम हिनामिना प्रकरणमा तीन जनालाई २ वर्ष कैद हुने फैसला सुनाएको छ ।
शुक्रबार विशेष अदालत काठमाडौँ अध्यक्ष सुदर्शनदेव भट्ट,सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत कर्मचारी तृप्ति शाही, लेखा अधिकृत (अधिकृतस्तर छैटौँ) शंकरप्रसाद सुवेदी र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई २ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा रकम दाखिला नगरी हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
बिगो र जरिवानाको हकमा प्रतिवादी शंकरप्रसाद सुवेदी र शाहीलाई जनही रु. ८ लाख ८३ हजार ४१४ जरिवाना गरी सोही बमोजिमको बिगो रकम असुलउपर हुने अदालतको आदेशमा उल्लेख गरिएको छ ।
साथै अर्का प्रतिवादी गोमा सिंजाली मगरलाई रु। ८ लाख ६९६ जरिवाना गरी सोही बमोजिमको बिगो रकम असुल गर्नुपर्ने समेत आदेशमा उल्लेख छ ।








