एएफपी । राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियान पछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।
फक्स न्युज र सीबीएस न्युज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् । ह्वाइट हाउस र पेन्टागनले भने आक्रमणको बारेमा हाल सम्म कुनै टिप्पणी गरेका छैनन् ।
विस्फोट, शहरमा उड्ने विमानहरूको आवाजसँगै, उस्तै सुनिने गरी शनिबार राती २:०० बजे देखि भएको एएफपीले जनाएको छ । राजधानीको उत्तरमा रहेको ला गुइरामा पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ जहाँ काराकासको विमानस्थल र बन्दरगाह अवस्थित छ ।
भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोको सरकारले भेनेजुएलाको भूभाग र जनता विरुद्ध संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले गरेको गम्भीर सैन्य आक्रमणलाई भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदाय सामु अस्वीकार, र निन्दा गरेको जनाएको छ ।
आक्रमण पछि उनले मुलुकमा आपतकालकोसमेत घोषणा गरिसकेको बताइएको छ । छिमेकी कोलम्बियाका राष्ट्रपतिले आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्र संघको आपत्कालीन बैठक बोलाएका छन् । वामपन्थी नेता गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा भेनेजुएलामा भएको आक्रमणको बारेमा सम्पूर्ण विश्वलाई सचेत गराइरहेको जनाइएको छ ।
अहिले पनि मेसिन गन जस्तो धेरै विस्फोट र गोली चलेको आवाज सुनिरहेको अधिकारीहरूलाई उदृत गर्दै एएफपीले बताएको छ । स्थानीय बासिन्दाहरूका अनुसार सहरका केही भागहरूमा आक्रमण पछि बिजुली काटिएको छ ।
सुरुमा लागुऔषध तस्करी विरोधी अभियानको रूपमा प्रस्तुत गरेको क्यारिबियनमा विमान वाहक र लडाकु विमान तैनाथ गर्ने ट्रम्पले भेनेजुएलाको भूमिमा बारम्बार आक्रमण गर्ने धम्की दिएको जनाइएको छ । यस अघि सोमबार ट्रम्पले अमेरिकाले भेनेजुएलाका कथित लागुऔषध डुंगाहरू आक्रमण गरी नष्ट गर्ने बताउँदै नियन्त्रण अभियानको पहिलो प्रयास आक्रमण हुने बताएका थिए ।
मादुरोले भने आक्रमणको पुष्टि तथा अस्वीकार नगरी बिहीबार वासिङ्टनसँगको सहकार्यका लागि खुला रहेको बताएका थिए । ट्रम्प प्रशासनले भने मादुरोलाई लागु औषध ओसार पसारको नेतृत्व गरेको आरोप लगाएको छ । मादुरोले लागु औषध कारोबारमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै वासिङ्टनले आफूलाई सत्ताच्युत गर्न खोजिरहेको बताएका छन् ।
वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ र भेनेजुएलाको तेलले भरिएका ट्यांकरहरू जफत गर्न आदेश दिएको छ । अमेरिकी सेनाले सेप्टेम्बर देखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुंगाहरूमा धेरै आक्रमणहरू गरेको छ, जसलाई वासिङ्टनले लागुऔषध तस्करहरू भनेको छ ।अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।







