काठमाडौँ । सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सामुदायिक वनको भवन निर्माण, काठ संकलन, उपभोक्ता समूहका सदस्यलाई घाँस–दाउरा वितरण तथा बाटो मर्मतलगायतका कार्यमा वास्तविक खर्चभन्दा बढी देखाई रकम हिनामिना गरिएको पाइएको छ। लेखापरीक्षण प्रतिवेदनअनुसार विभिन्न शीर्षकमा झुट्टा बिल–भरपाई तयार गरी रु. २५ लाख ३२ हजार १८५ बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याइएको आयोगको दाबी छ।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी तथा लेखा परीक्षक तन्तुक लाल चौधरी रहेका छन्।









