मूल्य स्थापित गर्दै मूल्यमा अभिवृद्धि गर्नु सकारात्मक दिशा तय हुनु हो। नेपाल विश्वमा यस्तो विविधता तथा विशेषतायुक्त मुलुक हो, जुन अरु कुनै मुलुकसँग हुबहु दुरुस्त पाइँदैन। यसको विशिष्टता नै यसको विशेष मूल्य हो। हामीले उचित मूल्य दिन सकिरहेका छौं या छैनौं भन्ने मूल प्रश्न हो। प्रणाली बदलिन्छ, सरकार बदलिन्छ, नारा बदलिन्छ, तर सोच अनि कार्यशैली भने खासै बदलिँदैन। कतिपय मूल्यहरू यस्ता हुन्छन्, जसलाई हामी परिवर्तन गर्न नै खोज्दैनौं। सबै खालका परिवर्तनहरू अझ राम्रो मूल्यको खोजीमा भएका हुन्छन्। कतिपय यस्ता मूल्यहरू सर्वोपरी हुन्छन्। तर परिवर्तन पक्षधरहरू सचेत र सजग भएको भने पाइँदैन। फलतः मुलुक हिंसा, गरिबी, अस्थिरता, अन्योलता र अराजकतामा फस्न पुग्छ। यसको मूल कारण देश, काल अनि परिस्थितिको मूल्यप्रतिको अवोध र अदूरदर्शिता हो।
राम्रा मूल्यहरू यथावत् राख्ने र निरन्तरता दिने अनि खराब तथा असान्दर्भिक मूल्यहरूलाई समयसापेक्ष र यथार्थपरक बनाउँदै जानुपर्ने हो, तर त्यसो गरिरहेका हुँदैनौं। हामी सबै समस्या आफूमा होइन कि अरुमा देख्दछौं। आफू सधैं ठीक, तर अरु चाहिँ गलत भन्ने सोच पनि गलत मूल्य हो। आफूकेन्द्रित मानसिकता ठूलो समस्या हो। यसले सार्वजनिक हित गर्दैन। देखिएका अनि भोगिएका समस्याहरू केवल अरुले थोपरेका समस्याहरू होइनन्। कुनै पनि समस्या एकपक्षीय हुन सक्दैन। एक समस्यासँग जोडिएका विभिन्न कारणहरू हुन्छन्। तीमध्ये एक कारण आफू पनि हो भनेर बुझ्नु र सोही बमोजिमको भूमिका निर्वाह गर्नु जरुरी हुन्छ।
पछिल्लो एक अध्ययन प्रतिवेदनका अनुसार नेपाल प्रकृतिसँगको निकटतामा विश्वमै पहिलो सूचीमा परेको छ। यो नेपाल र नेपालीको समग्र विकासका लागि ठूलो मूल्य हो। अब यस मूल्यलाई जबसम्म राम्रोसँग मूल्य दिइरहन सक्छौं, तबसम्म नेपालको हितमा धेरै सुधार गर्न सकिन्छ। हामी सबैलाई लाग्छ -समस्या नेतामा छ, प्रणालीमा छ, कर्मचारीतन्त्रमा छ, नीतिमा छ, कार्यान्वयनमा छ, आचरणमा छ अनि समन्वयमा छ। यस्ता समस्याहरू एकतर्फी वा निरपेक्ष छन् भनेर बुझ्नु नै गलत हो। मूल समस्या हाम्रो सोच, व्यवहार र बोधमा छ। हामी आदर्शका कुरा गर्छौं, ठूला–ठूला कुरा गर्छौं, तर व्यवहारमा सिन्को भाँच्दैनौं। अधिकारको माग गर्छौं, तर कर्तव्यबोध गर्दैनौं। यसको असर मुलुकको विकास र शासन व्यवस्थामा पर्छ। जसले गर्दा नागरिकहरूले राम्रो शासन व्यवस्था उपयोग गर्न पाउँदैनन्। शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा भौतिक विकासले तीव्रता पाउँदैन। युवा पलायन बढ्छ, गरिबी, बेरोजगारी, अशान्ति र अराजकता मौलाउन थाल्छ। राज्यका सबै पक्षहरू सुझबुझकारी, संयमित र जवाफदेही नभए शासन व्यवस्थामै प्रश्न उठ्छ। नेपालमा विकसित पछिल्ला घटनाक्रमहरू पनि यस्तै उपजहरू हुन्।
कुनै पनि मुलुक कुनै एक पक्षले मात्र राम्रो वा नराम्रो बनाएको हुँदैन। यससँग जोडिएका सबै पक्षहरू जिम्मेवार हुन्छन्। कुनै पक्षमा कोही बढी जिम्मेवार होला भने अरु पक्षमा अरु बढी जिम्मेवार होलान्। मुख्य समस्या भनेको जवाफदेहिताको हो। जहाँ जवाफदेहिता हुँदैन, त्यहाँको शासन व्यवस्था कमजोर हुन्छ। नागरिक अनागरिक बन्दै जान्छ, सुशासन होइन भ्रष्टाचारले प्रश्रय पाउँछ। फलतः मुलुक असफल राष्ट्रतर्फ अग्रसर हुन्छ। दुनियाँमा असफल राष्ट्रका धेरै उदाहरणहरू छन्। हामी असफलताको बाटोमा हिँड्ने कि एक सफल र समृद्ध मुलुकका नागरिक बन्ने भन्ने निर्णायक भूमिका नागरिककै हातमा हुन्छ। कुनै पनि प्रणाली सही ढंगबाट चल्न त्यससँग सम्बद्ध सबै पक्षमा इमानदारी, सत्यता र पारदर्शिता आवश्यक हुन्छ। सत्य के हो भन्नेमा संयमित हुनुपर्छ। झूट बोल्ने, नियम तोड्ने, गलत गर्ने र तिनै विषयलाई सही ठहर्याउन खोज्ने प्रवृत्ति हावी छ, जुन गलत संस्कार हो। यस्तो सोचले समाज कमजोर बनाउँछ। हरेक नागरिकले आफ्नो काममा इमान र जिम्मेवारीबोध देखाउन सके देश स्वाभाविक रूपमा बलियो हुन्छ।
राजनीति कार्यनीतिभन्दा बढी, कुरा कर्मभन्दा बढी, र व्यक्तिगत स्वार्थ जनसेवाभन्दा ठूलो भएको छ। राजनीति सेवा होइन, पेशा बनिसकेको छ। यसले राजनीतिक दल र नेतृत्वप्रति वितृष्णा पैदा गरेको छ, जुन लोकतान्त्रिक शासन व्यवस्थाका लागि अत्यन्त घातक छ। यसरी राजनीतिक क्षयीकरण हुँदै जाँदा गलत तरिकाले परिस्थितिको दुरुपयोग हुन सक्ने जोखिम बढ्दै जान्छ। पद र पैसा परिवार तथा आफन्तकेन्द्रित हुँदा दलहरूले जनविश्वास गुमाएका छन्। त्यसैले राजनीतिक प्रणालीलाई साँचो अर्थमा मुलुकको समग्र विकासमा सार्थक बनाउन राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र, सुशासन, नीति तथा सिद्धान्तहरू व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्छ।
सरकारी कार्यालयहरूमा सेवाभावभन्दा सुविधा खोज्ने प्रवृत्ति बढ्दो छ। काम नगर्ने, जिम्मेवारी नलिने तर हक र सुविधा खोज्ने प्रवृत्ति छ भन्ने टिप्पणी नागरिक तहमा हुने गरेको छ। समय, श्रम, नागरिक अभिमत, प्राकृतिक स्रोत-साधन सबैको उचित मूल्य स्थापित हुनुपर्छ। यसैगरी शिक्षक, चिकित्सक, प्रहरी, कर्मचारी वा पेशाकर्मी तथा व्यवसायी सबैको भूमिका जनहित प्रवर्द्धनमा केन्द्रित हुनुपर्छ। तर अहिले सेवाभन्दा सुविधा र धनकेन्द्रित मानसिकता व्याप्त छ। जबसम्म मुलुक, समाज र नागरिकप्रति सेवाभाव जागृत गराउन सकिँदैन, तबसम्म सकारात्मक परिवर्तन सम्भव हुँदैन। हामी प्रायः अधिकारको कुरा गर्छौं, तर कर्तव्यलाई बिर्सन्छौं। राज्यले के दियो भन्नेभन्दा पनि राज्यलाई मैले के दिन सकेँ वा सक्छु भन्ने भावना हरेक नागरिकमा हुनुपर्छ।
हामी स्वतन्त्र हुन खोज्यौं, तर स्वतन्त्रताको नाममा छाडा वा अनुशासनहीन बन्न तल्लिन भयौं भने स्वतन्त्रताको पनि मूल्य रहँदैन। लोकतन्त्र तब मात्र बलियो हुन्छ, जब पारदर्शिता, जवाफदेहिता र सहकार्य व्यवहारमा देखिन्छ र लोकतन्त्रलाई मूल्यवान बनाइन्छ। पैसा जीवनको आवश्यकता हो, तर सर्वस्व होइन। तर व्यक्ति र समाजले पैसालाई नै सर्वोपरी ठानेको देखिन्छ। धनभन्दा ठूलो विश्वास हो, र यही विश्वास राष्ट्रको आधार हो। कुनै पनि काम सानो वा ठूलो हुँदैन। समय र परिस्थितिले कामको मूल्य सिर्जना गर्छ। मूल्यविहीन कुनै पनि काम हुँदैन। श्रम र समयको मूल्य बुझ्ने समाज मात्र असल समाज हुन्छ, र त्यस्तो समाजका नागरिक असल नागरिक ठहर्छन्।
अहिलेको समस्या शासन प्रणाली र संरचनाभन्दा बढी सोच र संस्कारको हो। सुधारको सुरुवात हरेकले आफ्नै स्थानबाट गर्नुपर्छ। जब कुरा कम र कर्म बढी गर्न थाल्छौं, जब सुविधा होइन सेवा रोज्छौं, तब हामी परिवर्तनशील हुन्छौं र हरेक स्रोत–साधन तथा पक्षहरूको उचित मूल्य कायम गर्न सक्छौं। मूल्यले नै मूल्य दिलाउन सक्छ, र नेपाल सुदृढ तथा नेपाली सुखी बन्ने अवस्था सिर्जना हुन्छ।







