काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ ।
आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको ‘जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क’ को नीतिगत खाकाका आधारमा विद्युत् प्रणालीमा खुला पहुँचको व्यवस्था गर्ने गराउने उद्देश्यका साथ निर्देशिका ल्याएको हो ।
उक्त निर्देशिकामा ३३ के.भी. वा सोभन्दा माथिल्लो भोल्टेजस्तरमा जोडिएका ५ मे.वा. वा सोभन्दा बढी क्षमताका आयोजना, न्युनतम १ मे.वा. क्षमता भएका क्याप्टिभ आयोजना र कन्ट्रयाक्ट इनर्जी ५ मे.वा. वा सोभन्दा बढी भई ३३ के.भी. वा सो भन्दा माथिल्लो भोल्टेजस्तरमा जोडिएका औद्योगिक तथा व्यापारिक उपभोक्तालाई विद्युतमा भेदभावरहित खुल्ला पहुँचको सेवा लिन सक्ने लगायतको व्यवस्था गरिएको छ ।
उक्त निर्देशिकामा अन्तरदेशीय विद्युत् व्यापारका लागि खुल्ला पहुँच प्रयोग गर्दा सोको क्षमता भने न्यूनतम १० मे।वा। हुनु पर्ने उल्लेख छ । यस निर्देशिका बमोजिम खुल्ला पहुँच प्रदान गरिएका निकायलाई यस निर्देशिकाको अधिनमा रही बिना भेदभाव प्रसारण वा वितरण प्रणाली प्रयोग गर्ने हक रहनेछ ।







