काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवारीलाई लिएर उत्पन्न विवाद समाधान गर्न पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित नेताहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका छन्।
सिन्धुली-२ मा आधिकारिक उम्मेदवार राजन दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गरेपछि विवाद चर्किएको हो। यस अवस्थालाई सम्बोधन गर्न संयोजक दाहालले पहल गर्दै केन्द्रमा संवादको प्रयास थालेका हुन्।
पार्टी स्रोतका अनुसार उक्त बागी उम्मेदवारीको प्रस्ताव शीर्ष नेता हरिबोल गजुरेलको नेतृत्वमा अघि बढेको हो। सुरुमा सिन्धुली-१ बाट सिफारिस भएका दाहाललाई सिन्धुली-२ मा उम्मेदवार बनाइएपछि असन्तुष्टि बढ्दै गएको बताइएको छ।
टिकट विवाद तीव्र भएपछि ‘प्रचण्ड’ उम्मेदवारी दर्ताका लागि रुकुम पूर्व पुगेको कार्यक्रम छोट्याएर काठमाडौँ फर्किएका छन्। अध्यक्षले छलफलका लागि बोलाएपछि हरिबोल गजुरेल, बागी उम्मेदवार महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बमजन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौँतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिइएको छ।







