काठमाडौँ । पश्चिमी वायु प्रणाली सक्रिय भएसँगै शुक्रबार अपराह्नदेखि मुलुकको मौसम अवस्थामा परिवर्तन आउने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ।
विभागका अनुसार मौसम बदलीको प्रभाव प्रारम्भमा पश्चिमी भूभागमा देखिनेछ। माघ ९ गते दिउँसोदेखि पश्चिम नेपालमा बादल लाग्न थाल्ने र त्यसपछि सुदूरपश्चिमका सीमित स्थानमा हल्का वर्षा सुरु हुने सम्भावना रहेको जनाइएको छ।
शुक्रबार रातिदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम स्तरको हिमपात हुन सक्ने अनुमान गरिएको छ। पश्चिमी वायुको प्रभाव विस्तार हुँदै जाँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना देखिएको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा असिनासहितको मेघगर्जन हुन सक्ने जानकारी विभागले दिएको छ। शनिबार मौसममा केही सुधार देखिए पनि बदलीको असर देशभर कायमै रहने र तापक्रम घटेर चिसो बढ्ने पूर्वानुमान गरिएको छ।
मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन गतिविधि तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले विभागले नियमित रूपमा सार्वजनिक गरिने अद्यावधिक मौसम सूचनाको अनुगमन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।







