काठमाडौँ। कालिकोट जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। पार्टी नेतृत्वको हस्तक्षेपपछि उनले उम्मेदवारी कायम नराख्ने निर्णय लिएको बताइएको छ।
पार्टी स्रोतका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता गर्ने सहमति जनाएका हुन्। नेकपाले कालिकोटमा महेन्द्रबहादुर शाहीलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेपछि बुढाले असन्तुष्टि जनाउँदै बागी रूपमा मनोनयन दर्ता गराएका थिए।
पछिल्लो निर्णयसँगै बुढाले पार्टीको औपचारिक उम्मेदवार शाहीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ। पार्टी एकता र निर्वाचन रणनीतिलाई प्राथमिकतामा राख्दै आन्तरिक मतभेद समाधान गरिएको नेकपाले जनाएको छ।







