काठमाडौँ। गुल्मीमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयन र उल्लंघन न्यूनीकरणका विषयमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लामा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा निर्वाचन प्रक्रियामा लागू हुने आचारसंहिताका प्रावधानहरूबारे विस्तृत जानकारी गराइएको थियो।
जिल्ला निर्वाचन अधिकृत ऋषिराम घिमिरेले निर्वाचन आचारसंहिता २०८२ का प्रमुख व्यवस्था, निर्वाचन अवधिमा उम्मेदवार, दल, समर्थक र अन्य सरोकारवालाले पालना गर्नुपर्ने दायित्व तथा निषेधित कार्यहरूबारे स्पष्ट पारे। आचारसंहिता उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही हुने विषयमा पनि जानकारी गराइएको थियो। निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचनका लागि आचारसंहिता आधारभूत मार्गदर्शक हुने उनको भनाइ थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैरैले निर्वाचन आचारसंहिता सबै पक्षले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए। जिल्लामा शान्तिपूर्ण, भयरहित र विश्वासयोग्य वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायसहित प्रशासनिक संयन्त्र तयारी अवस्थामा रहेको उनले बताए। कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रशासन सतर्क रहेको र त्यसका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा उनले व्यक्त गरे।
त्यसैगरी मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले निर्वाचनको सफलताका लागि उम्मेदवार र राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे। आचारसंहिता प्रभावकारी रूपमा लागू हुँदा निर्वाचनप्रति आम नागरिकको विश्वास थप मजबुत हुने उनको भनाइ थियो।
छलफल कार्यक्रमको अन्त्यमा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता २०८२ का सबै व्यवस्था इमानदारीपूर्वक पालना गर्ने प्रतिबद्धता जनाएका छन्। साथै निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय तथा प्रशासनसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
गुल्मी जिल्लामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ती दुवै क्षेत्रमा हालसम्म ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता दर्ता रहेका छन्, जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन्।
निर्वाचनका लागि जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा गुल्मी जिल्लामा राजनीतिक गतिविधि क्रमशः सक्रिय बन्दै गएको देखिएको छ।







